दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन

पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।

सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको हो।

हरेको महिनाको २३, २४ र २५ गते औसत दिनको तुलनामा बढी राजस्व संकलन हुन्छ।

करदाताले हरेक महिनाको कारोबार विवरण महिना समाप्त भएको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्छ। त्यस्तै अग्रिम (टिडिएस) पनि २५ गतेभित्र नै बुझाउनु पर्ने हुन्छ।

यो पटक भने नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पनि यही समयमा आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्।

मंगलबार कर राजस्व सात अर्ब तीन करोड र गैर कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख उठेको थियो। गैर कर राजस्व मध्ये १० अर्ब रूपैयाँ राष्ट्र बैंकले लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको हो। ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम गैर कर राजस्व अन्तर्गत पर्छ।

त्यस्तै बुधबार १० अर्ब २१ करोड १० लाख रूपैयाँ कर राजस्व र एक अर्ब २४ करोड ८५ लाख रूपैयाँ गैर कर राजस्व उठेको छ।

अर्थमन्त्रालयले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य राखेको छ। पुस २५ गतेसम्म ७९ अर्ब रूपैयाँ राजस्व उठेको छ। राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन्। पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्वका अधिकारीहरूको भनाइ छ।

विशेषतः पुस महिनामा सबैभन्दा धेरै आयकर उठ्ने गर्छ।

आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।

यसको अर्थ पुस महिनासम्म करदाताले त्यस आर्थिक वर्षमा कति आम्दानी हुन्छ भन्ने अनुमान गरेको हुन्छ। त्यस्तो अनुमानयोग्य आम्दानीबाट पुस महिनामा ४० प्रतिशत, चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ। त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत बुझाउनु पर्ने हुन्छ।

त्यस्तै गत वर्षको अन्तिम आय विवरण बुझाएर त्यसवापतको कर बुझाउनु पर्ने हुन्छ। अनुमानयोग्य आम्दानीभन्दा १० प्रतिशत बढी आय भएको खण्डमा ब्याजसहित यस्तो कर बुझाउनु पर्ने र १० प्रतिशतभन्दा कम भएको अवस्थामा जति बढी आय भएको हो, त्यसवापतको कर पुस मसान्तसम्म बुझाइ सक्नुपर्ने हो। यस कारण पनि पुसमा बढी राजस्व उठ्छ।

आर्थिक वर्ष २०७८–७९ मा उठेको १० खर्ब ६३ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ उठेको थियो।

आर्थिक वर्ष २०७९–८० मा नौ खर्ब ५७ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ राजस्व उठेको थियो।