Breaking News

प्रमुख दलका नेताहरूका कारण देश असफल

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरूका कारण देश असफल भएका बताएका छन् ।

आजपाद्वारा पर्साको पोखरियामा आइतबार आयोजित पार्टी प्रवेश एंव कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक संकट गहिरिएको बताए ।

उनले भने, ‘कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरूलाई फुर्सद छैन्, सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सिर्जना भएन ।  बेरोजगारी,  भ्रष्टाचार, कुशासन बढेको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकेको छैन ।  रोजगारका लागि विदेश जान्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गरेको छ ।’

नेताहरूको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको उनको दाबी छ । समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको उनले बताए । सरकार दल तथा दलका मठाधीशहरू असफल भइसकेको बताउँदै उनले यो सरकार विघटन गरेर अन्तरिम सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बताए ।

अर्को प्रसङ्गमा साहले वीरगन्ज सहित पुरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताउँदै उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए । देशकै आर्थिक राजधानी रहेको वीरगन्ज सहित मधेसलाई तहसनहस गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको उनले बताए ।

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरू सत्तामा बसेर लुट मचाइरहेको आरोप साहले लगाए । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा शसक्त आवाज उठाउनुपर्ने बताए ।

बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

आजपा पर्साका अध्यक्ष पदम रसुलको अध्यक्षतामा पोखरीयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सुवास कुशवाहा, जसपाका बशिष्ट कुशवाहा, जनमतका केदार कुशवाहा, लोसपाका ओमप्रकाश कुशवाहा, जसपाका महम्द इस्तिखार आजपामा प्रवेश गरेका छन् ।

यसैगरी फनेश साह सोनार, सरेश मुखिया, अच्छेलाल राउत कुर्मी, राजन मण्डल, सोनालाल मण्डल, मिलन मण्डल, बैजनाथ साह, प्रयाग साह, लालबाबु साह, सुरज ठाकुर, जितेन्द्र राम, बृजा साह, शम्भु राम, कन्चन साह, जवाहर गिरी, अम्बिका साह, मंगल साह,  सोहन राम, विरेन्द्र साह, अमिरिका चौहान लगायतका सयौं स्थानीय नेताकार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन् ।