काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन लगत्तै मन्त्रिपरिषदमा ठूलै हेरफेर हुने भएको छ । मुख्य त सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालय साटासाट गर्ने उद्देश्यले मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको हो ।
कांग्रेस र माओवादीबिच मन्त्रालय हेरफेर हुने भएपछि कांग्रेसले गृह लिएर अर्थ माओवादीलाई दिने तयारी गरेको छ । अर्थ र गृह साट्ने कांग्रेसको प्रस्तावले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने हाइसन्चो हुने भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण हैरान भएका प्रचण्डलाई कांग्रेसको प्रस्तावले राहत मिल्ने भएको हो । कांग्रेसले गृह लिएसँगै अर्थ पाउँदा वर्षमान पुन ‘अनन्त’लाई अर्थमन्त्री बनाउने प्रचण्डले तयारी गरेका छन् ।
ठूला–ठूला भ्रष्टाचार काण्डहरूमा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई जानकारी नै नगराई गतिविधि गरेका कारण प्रधानमन्त्री कांग्रेसको दबाबमा पर्दै आएका छन् । त्यसमाथि आफूलाई समेत बाइपास गर्दै मनलाग्दी निर्णय गर्दै आएका श्रेष्ठसँग प्रधानमन्त्री रुष्ट छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई जानकारी नै नगराई गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गराएपछि कांग्रेसको तारोमा पर्दै आएका थिए । सत्तारुढ गठबन्धनको मर्म विपरीत गृहमन्त्रीले चाल्दै आएको कदमको मारमा भने प्रधानमन्त्री पर्दै आएका छन् ।
सत्तारुढ दलले मन नपराएर मात्र नभई आफूलाई समेत बाइपास गर्दै आएका कारण श्रेष्ठलाई हटाउन प्रधानमन्त्री उपयुक्त समय र उपायको खोजीमा थिए । यसै मेसोमा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मन्त्रिपरिषद्को सेटै परिवर्तन गर्ने उपाय जुरेको हो ।
राष्ट्रियसभा निर्वाचन लगत्तै मन्त्रीहरूको सेटै परिवर्तन हुने भएको छ । त्यसको मुख्य कारक गृहमन्त्री श्रेष्ठलाई मानिएको छ । उनकै कारण गठबन्धन सरकारमा अविश्वासको वातावरण बनेपछि देउवा र प्रचण्ड सेटै परिवर्तन गर्ने नाममा गृहमन्त्री फेर्ने पक्षमा पुगेका हुन् ।
त्यसो त गृहमन्त्री मात्र फेर्न खोजिएको होइन । कांग्रेस भित्र र बाहिरबाट पनि अर्थमन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ । देशमा आर्थिक संकट झनै बढ्दै गएको अवस्थामा अर्थमन्त्री डा। प्रकाशशरण महतले काम गर्न नसकेका कारण उनलाई हटाउनुपर्ने माग बलियो छ । यसै कारण अर्थमन्त्री पनि फेरिने निश्चित भएको हो ।
यसपटक अर्थमन्त्री र गृहमन्त्री मात्रै फेरिने छैनन् । छानेर केही मन्त्रीलाई मात्र हटाउँदा पार्टीभित्र नकारात्मक सन्देश जाने र असन्तुष्टि झनै बढ्ने भएकाले देउवा र प्रचण्डले मन्त्रीहरूको सेटै फेर्ने तयारी गरेका हुन् ।