काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
छन् ।
यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।
भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद्को पनि सहभागी थियाे ।