Breaking News

सुर्खेतको वीरेन्द्रनगरसहित दैलेखमा पनि आन्दोलन ‘युवा विद्रोही’ समूह बनाएर सरकारविरुद्ध आन्दोलन

सुर्खेत । ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि आज शनिबार सुर्खेतको वीरेन्द्रनगरसहित दैलेखमा पनि आन्दोलन गरिएको छ । ‘युवा विद्रोही’ समूह बनाएर सरकारविरुद्ध आन्दोलन भइरहेको हो ।

प्रदर्शन गर्दै समूहले भोलि आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको छ । समूहले आइतबार सुर्खेतमा सम्पूर्ण सरकारी सवारी साधनहरू दिनभर बन्द गर्ने र बाँकी अन्य निजी तथा सार्वजनिक यातायातका साधनहरू दिउँसो १२ बजेदेखि १ बजेसम्म बन्द गर्ने बताएको हो ।

आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरूबाट भइरहेको चरणबद्ध आन्दोलनमा यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको छ ।’

शनिबार वीरेन्द्रनगरको एरीचोक र वीरेन्द्रचोकमा उनीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । समूहका अगुवाका रूपमा रहेका दैलेखका नवीन योगीका अनुसार आन्दोलनहरू चरणबद्ध रूपमा गरिनेछन् ।