Breaking News

अदालत परिसरमै मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडितलाई कुटेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना

सिरहा जिल्ला अदालत परिसरमै मिटरब्याजी अभियुक्त श्याम निरौलाले दुई जना पीडितलाई कुटेपछि मिटरब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन्।

प्रहरीले निरौलाविरूद्ध जाहेरी दर्ता गर्न आनाकानी गरेको भन्दै पीडितहरू चिसोमा कार्यालय अगाडि धर्नामा बसेका हुन्।

बकपत्रका लागि अदालत पुग्दा मिटरब्याज अभियुक्त निरौलाले पीडितद्वय सकुन्ती यादव र सुकुमारी साहलाई कुटपिट गरेको आरोप छ।

मिटरब्याज विरूद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवानले सुरक्षाकर्मीकै अगाडि पीडितलाई कुटेका निरौलालाई प्रहरीले जोगाउन खोजेपछि आफुहरू धर्नामा बसेको बताए।

धर्ना बसेपछि मात्रै आज बिहान निरौलाविरूद्ध प्रहरीले जाहेरी दर्ता गरेको उनको दावी छ। उनीविरूद्ध पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय व्यवहार सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।

यद्दपि प्रहरीले पीडितहरू साँझतिर जाहेरी दिएकाले मुद्दा दर्ता आज गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।