पूर्वमन्त्री गोपाल किराती लगायतको रिहाईको माग गर्दै यातायात बन्द गराउने आठ पहिचानवादी पक्राउ

काठमाडौं । पूर्वमन्त्री गोपाल किराती लगायतको रिहाईको माग गर्दै यातायात बन्द गराउने आठ पहिचानवादी पक्राउ परेका छन् ।

आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेको बेला युगसन किरात, निर्मल राई, सुनिल राई, संगीता राई, सोनामहाङ राई, मेलिना राई, उपार्जन राई, र लक्ष्मी राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पहिचान पक्षधरले नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोध गर्नेक्रममा पक्राउ परेका किराती लगायत अन्य पाँच जनालाई बिना सर्त रिहाइको माग गर्दै शनिबारदेखि मध्यपहाडी लोकमार्ग लगायतमा सडक अबरुद्ध गरेका छन् ।

आइतबार पनि बिहानैदेखि यातायात ठप्प पारिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसी लगायतका क्षेत्रमा बन्दकर्ता कसेर यातायात बन्द गराएका हुन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार अबरोधकर्ताहरुलाई नियन्त्रणमा लिएर यातायात सुचारु गरिएको छ ।