Breaking News

शरीर स्वस्थ रहेको थाहा पाउन याद गर्नुपर्ने ८ संकेत

मेरो शरीर स्वस्थ छ कि छैन होला ? यो प्रश्न सायद हरेक व्यक्तिको मनमा आउने गर्छ । शरीर स्वस्थ हुनको लागि रोगप्रतिरोधात्मक क्षमता राम्रो हुनु जरुरी हुन्छ । त्यसैले रोगप्रतिरोधात्मक क्षमतालाई आयुर्वेदमा सधैं महत्त्व दिइन्छ ।

पेट सफा छ, तौल ठीक छ, छाला सफा छ, अल्छी लाग्दैन, भोक राम्रो छ, निद्रा राम्रो छ, शरीरमा कतै दुखाइ छैन र मन खुसी छ भने हामी आफूलाई स्वस्थ ठान्छौं । तर स्वस्थको यी आठ लक्षण देखिएन भने आत्तिनुपर्दैन । आफ्नो दैनिक दिनचर्या र खानपानमा परिवर्तन गरेर स्वास्थ्यको मापदण्ड हासिल गर्न सकिन्छ ।

चम्किलो छाला

शरीर स्वस्थ र सन्तुलित भयो भने छाला पनि स्वस्थ र चम्किलो हुन्छ । मानिसको स्वास्थ्य जति राम्रो हुन्छ, अनुहार लगायत सम्पूर्ण शरीरको छाला त्यति नै स्वस्थ र चम्किलो हुन्छ । छालाको चमक बढाउन प्रशस्त पानी पिउनुपर्छ । दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस् र दिनभर तीनदेखि चार लिटर पानी पिउने बानी बसाल्नुपर्छ ।

नियमित योग, व्यायाम र सन्तुलित र सात्विक आहारले बाँकी रहेका कमजोरीहरू पूरा गरी छालालाई चम्किलो बनाउँछ ।

तौल नियन्त्रण

वंशाणुगत र हार्मोनल कारणबाहेक तौल बढ्नुको अन्य मुख्य कारण खाना र व्यायाबीचको असन्तुलन हो । हामीले दिनभरि खाएको खानाबाट प्राप्त भएको क्यालोरीलाई व्यायाम र शारीरिक गतिविधिमार्फत खर्च गर्दैनौं भने त्यो शरीरमा अतिरिक्त वजनको रूपमा भण्डारण हुन्छ । यदि हामीले सन्तुलित खानासँगै दैनिक व्यायाम गर्‍यौं भने तौल नियन्त्रण हुन्छ ।

क समयमा भोक

यदि कसैलाई खाना खाने समयमा भोक लाग्दैन भने उनीहरू पूर्ण रूपमा स्वस्थ हुन सक्दैनन् । सधैं केही न केही खाइरहने, खानाको निश्चित समय नहुने र भोक लागेभन्दा बढी खानेकुरा खाने व्यक्ति कडा भोकको आनन्दबाट वञ्चित हुन्छन् । खानाको समय नमिल्दा ग्यास्ट्रिक र मोटोपनको समस्या निम्तिन्छ । यदि ठीक समयमा भोक लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ भन्ने लक्षण हुन्छ । त्यसैले सही समयमा खाना खानु पनि महत्त्वपूर्ण हुन्छ ।

गहिरो निद्रा

स्वस्थ रहनका लागि गहिरो र पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । गहिरो निद्रा शरीरको मांसपेशीलाई मर्मत गर्न र शरीरलाई स्फूर्ति प्रदान गर्न महत्त्वपूर्ण हुन्छ । त्यसैले गहिरो निद्राको लागि दिनभरि शरीर र दिमाग दुवैलाई सक्रिय राख्नुपर्छ । सुत्नुअघि आफ्नो दिमाग शान्त राख्ने, सुत्नुभन्दा एक घण्टा अगाडि टिभी र मोबाइलबाट टाढा रहने गरियो भने राम्ररी निदाउन सकिन्छ ।

खुसीको भावना

मन उदास रह्यो भने शरीर स्वस्थ रहन सक्दैन । त्यसैले मन खुसी हुनु जरुरी छ । मन दुई किसिमले खुसी हुन्छ- स्वस्थ शरीर र सकारात्मक सोच । योग, व्यायाम र सन्तुलनको माध्यमबाट शरीरलाई जति फिट बनाउन सकिन्छ, त्यति नै दिमाग प्रसन्न हुन्छ । सकारात्मक सोचले दिमागमा पनि सकारात्मक प्रभाव पार्छ । सकारात्मक सोचका लागि ध्यान र प्राणायामको अभ्यास सबैभन्दा प्रभावकारी हुन्छ ।

शरीरमा कुनै प्रकारको दुखा छैन

शरीरमा कुनै पनि प्रकारको दुखाइ छ भने त्यो स्वस्थ शरीरको लक्षण होइन । त्यसैले शरीरमा कुनै प्रकारको दुखाइ छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि शरीरको अंगमा कुनै पनि प्रकारको दुखाइ छ भने के कारणले दुखेको हो भन्ने कुरा पहिचान गरेर समयमा उपचार गर्नुपर्छ ।

शरीरमा आलस्य छैन

यदि शरीर आलस्य हुन्छ भने त्यो पनि स्वास्थ्य शरीरको लक्षण होइन । शरीरलाई स्वस्थ राख्न आलस्यता हटाउनुपर्छ । सात्विक भोजन, ध्यान, योग, व्यायाम र प्राणायामलाई दैनिक जीवनको हिस्सा बनाइयो भने शरीरमा आलस्यता रहँदैन ।

स्वस्थ पेट

दिसा नियमित र सहज तरिकाले हुन्छ भने त्यो स्वस्थ शरीरको लक्षण हो । सन्तुलित खाना र  नियमित योग गरियो भने हाम्रो पेट स्वतः सफा हुन्छ । साथै दैनिक तीनदेखि चार लिटर पानी पिउनु पर्छ ।

पेटलाई स्वस्थ भुजंगासन, बालासन, पवनमुक्त आसन, वज्रासन, धनुरासन र योग मुद्राको विशेष अभ्यास गर्न सकिन्छ । यी योगासनले कब्जियतको समस्याबाट पनि छुटकारा दिन्छ ।

अनलाइनखबरबाट

लेखक : डा. अमृत भण्डारी