Breaking News

ग्यास्ट्रिकलाई लापरबाही गरे सानो आन्द्रा फुट्न सक्छ

ग्यास्ट्रिक बढ्यो भन्दै मेडिकलबाट औषधी किनेर सेवन गर्ने चलन छ। यसले २/४ दिन आराम पनि दिन्छ। जब दुख्न थाल्छ फेरि औषधी खाइन्छ जसले गर्दा अल्सर भएको हुन्छ। यसरी लापरबाही तरिकाले औषधी खाँदा सानो आन्द्रा फुट्न सक्छ।

सानो आन्द्रा फुटेपछि पेट फुल्ने, दिसा पिसाब बन्द जस्तै हुने, बान्ता हुने, ज्वरो आउनेलगायत हुन्छ। यसको उपचार भनेको फुटेको आन्द्रालाई टाल्ने नै हो। यसको उपचार गर्दा सानो प्वाल पारेर गर्न सकिन्छ भने चिरेर समेत गर्न सकिन्छ।

सानो आन्द्रा फुट्न सक्छ भनेर पहिला थाहा हुँदैन। यो इमर्जेन्सी हुने हो।

खानपिनमा लापरबाही, अमिलो, पिरो, चिल्लो खाना धेरै खाँदा यस्तो हुनसक्ने खतरा रहन्छ।

सानो आन्द्रा फुट्नु र ग्यास्ट्रिकको सम्बन्ध छ। ग्यास्ट्रिकका कारण एसिड उत्पन्न हुन्छ। यसलाई लापरबाही गरियो भने सानो आन्द्रा फुट्ने हुन्छ।

सानो आन्द्रा फुट्नबाट जोगिने हो भने चिकित्सकको परामर्शबिना औषधी सेवन गर्न हुँदैन। स्वास्थ्य परीक्षण गर्ने, खानपिनमा ध्यान दिने, व्यायाम गर्ने अनि शरीरमा चिल्लो पदार्थ जम्मा हुन नदिने हो भने सानो आन्द्रा फुट्नबाट जोगिन सकिन्छ।

चाडपर्वको बेलामा यस्तो समस्या धेरै हुन्छ। मासु धेरै खाने अनि तारेर खाने गर्दा सानो आन्द्रामा समस्या हुन्छ।

सानो आन्द्रा फुट्ने खतरा ३० देखि ४० वर्षको उमेरका व्यक्तिलाई हुन्छ। त्यस्तै, सुगर, प्रेसरका बिरामीको समेत आन्द्रा फुट्न सक्छ। महिलालई भन्दा पुरूषलाई यस्तो समस्या हुने खतरा हुन्छ। यसको खास कारण के हो भनेर पत्ता लागेको छैन। तर महिलाहरूले भन्दा पुरूषले खानपिनमा लापरबाही गर्ने भएकाले यस्तो हुन्छ।

मैले अपरेसन गरेकामध्ये धेरै यस्ता भेटेको छु, जसले ग्यास्ट्रिकको समस्या भएर मेडिकलमा गएर औषधी खाएका थिए। त्यसैले जथाभावी औषधी बेच्ने गलत कामलाई रोक्न जरूरी छ।

सानो आन्द्रा फुट्ने मुख्य कारण ग्यास्ट्रिक भएकाले खानपिनमै ध्यान दिनुपर्छ। जथाभावी बेच्न राखिएका खाना नखाने,घरमै बनाएको खाना खाने,जंक फुड खान हुँदैन। रक्सी सकेसम्म नखाने र खाए पनि लिमिटमा खानुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिकित्सकसँग सल्लाह नगरी मेडिकलमा गएर सिधै औषधी किनेर खान हुँदैन।

ग्यास्ट्रिकको समस्या हुनेले खाने कुरामा धेरै ख्याल गर्नुपर्छ। बिहान सबेरै उठ्ने, पानी खाने, व्यायाम गर्ने अनि समय समयमा खानुपर्छ। बिहान खाएर एकैचोटि बेलुका खान हुँदैन। त्यस्तै सकेसम्म भोको पेट बस्न समेत हुँदैन। सकेसम्म २/२ घण्टामा थोरै/थोरै खाइयो भने त्यसले पाचन प्रणालीलाई सहयोग गर्छ।

(जनरल सर्जन डा.दिपेन्द्र न्यौपाने भरतपुर अस्पताल र मनकामना अस्पतालमा कार्यरत छन्।)

सेतोपाटीबाट

लेखक : डा.दिपेन्द्र न्यौपाने