Breaking News

भारतले सिनियर खेलाडीविनै अष्ट्रेलियाविरूद्धको  टी-२० सिरिजको उपाधि हात

भारतले सिनियर खेलाडीविनै अष्ट्रेलियाविरूद्धको  टी-२० सिरिजको उपाधि जितेको छ।

शुक्रबार राति सम्पन्न सिरिजको चौथो खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले एक खेल बाँकी छँदै सिरिजको उपाधि जितेको हो।

एकदिवसीय विश्वकपमा पराजित भएपछि अष्ट्रेलियाविरूद्धको टी-२० सिरिजका लागि भारतले रोहित शर्मा, विराट कोहलीलगायतका अनुभवी खेलाडीलाई आराम दिएको थियो।

अष्ट्रेलियाले पनि केही खेलाडीलाई आराम दिएको थियो। एकदिवसीय विश्वकपमा राम्रो प्रदर्शन गरेका ट्राभिस हेड, ग्लेन म्याक्सवेलजस्ता ब्याटर भने टिममा थिए। सिरिजको तेस्रो खेलमा म्याक्सवेलले शतक प्रहार गरेका थिए।

रायपुरको शहिद वीरनारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेटेको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो।

ट्राभिस हेडको विस्फोटक ब्याटिङमा सुखद सुरूवात गरेको अष्ट्रेलियाले उनको विकेटपछि लय समात्न सकेन।

४.४ ओभरमा अक्षर पटेलको बलमा मुकेश कुमारबाट क्याच आउट हुनअघि १६ बलमात्र खेलेका हेडले ५ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएका थिए।

त्यसअघि भारतका रवि बिस्नोईले ३.१ ओभरमा ओपनर जोस फिलिपेलाई बोल्ड गरेका थिए। ओपनरद्वय आउट भएपछि बेन मिकडेरमटले १९ रन, एरोन हार्डीले ८ रन, टिम डेविडले १९ रन, म्याथ्यु सोर्टले २२ रन म्याथ्यु वाडेले नट आउट ३६ रन बनाए।

बलिङमा भारतका अक्षर पटेलले ३, दीपक चाहरले २ तथा रवि बिस्नोई र अवेश खानले एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो।

भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। २९ बल खेलेका उनले ४ चौका र २ छक्का हाने।

त्यस्तै यशश्वी जैसवालले ३७ रन, रूतुराज गायकवाडले ३२ रन, जितेस शर्माले ३५ रन जोडे।

बलिङमा अष्ट्रेलियाका बेन डरस्वीसले ३, जेसन बेरेन्ड्रफ र तनवीर संघाले २/२ तथा एरोन हार्डीले १ विकेट लिए।

सिरिजको अघिल्लो तीन खेलमध्ये भारतले दुई र अष्ट्रेलियाले एक खेल जितेको थियो। चौथो खेलमा जित निकाल्दै भारतले ३-१ ले सिरिजको उपाधि जितेको हो।