दैलेखका एक व्यक्तिको सुर्खेतमा परीक्षण गर्दा कोरोना देखियो पृष्टिका लागि स्वाब नेपालगंज पठाइयो भोलि रिर्पोट आउने

५ जेठ, काठमाण्डौ । जेठ १ गते भारतबाट आएका दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिएका छन् ।

‘यहाँ पिसिआर गर्दा पोजेटिभ देखिएको छ,’ खड्काले भने, ‘तैपनि नेपालगञ्जमा कन्फर्म गर्दा अझ ढुक्क भएर भन्न मिल्छ, भोलिसम्म रिपोर्ट आउँछ ।

नेपालगञ्जको प्रयोगशालाबाट पनि पोजेटिभ रिपोर्ट आएमात्र कोरोना पुष्टि हुने डाक्टर खड्काले बताए ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण देखिएको छैन । कोरोनाभाइरसको संक्रमण फैलिन नदिने भन्दै प्रदेश सरकारले केही दिनदेखि प्रदेश नै सिल गरेको छ ।