ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ परेका सुवेदी मर्स्याङ्दी ट्राभल्सका म्यानेजर समेत हुन्।
उनले काठमाडौंको बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आइडी पोर्टल ह्याक गरेको एसपी अधिकारीले बताए।
एक करोड ९९ लाख ८२ हजार ९२४ बराबरको हवाई टिकट काटेर उक्त टिकट बराबरको रकम यात्रीहरूबाट लिएर जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सलाई ठगी गरेको प्रहरीले जनाएको छ।
यसरी ठगी भएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।