Breaking News

राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ माघमै चुनाव हुने बताएका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिँदै छ ।

राष्ट्रिय सभामा सदस्यको पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुुसार १५ माघभित्र रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । तर, आयोगले अन्य तयारीलाई ध्यानमा राखेर ११ माघमा चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ११ माघमा चुनाव गर्न उपयुक्त हुने परामर्श दिएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी गराएका थिए । कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन् ।