२४ कात्तिक, काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।
उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिएको थियो ।
रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा थियो । यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो ।
समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् । स्रोतका अनुसार, राजीनामा नदिँदा ‘कोर्ट मार्सल’ हुनसक्ने चेतावनी दिएपछि उनले स्वेच्छिक अवकाशको बाटो रोजेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट अनलाइनखबरले प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ ।
त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।
पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो । सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।
यद्यपि, दशैं बिदा र लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण सिफारिस अघि बढेको थिएन । स्रोतका अनुसार, प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।
तर, छानबिनविना प्रस्ताव आए फाइल फर्काउने संकेत रक्षा मन्त्रालयले दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको थियो ।
‘मार्क रजिस्टर’मा केरमेट
पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो ।
तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ । जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अनलाइनखबरसँग भनेका छन्, ‘नियमावली अनुसार जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ५ वर्ष पुर्याइएको छ ।’
यो प्रावधान पनि ०८० सालपछि परीक्षा दिएका विद्यार्थीहरुको हकमा लागू हुने हो । बोर्ड अध्यक्ष शर्मा थप्छन्, ‘जन्ममिति लगायतको विवरण सच्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई दर्खास्त दिएर त्यहाँबाट प्रमाण हेरेर पठाएपछि मात्र विवरण सच्याउने व्यवस्था छ ।’
जन्ममिति सच्याउनेबारे नियमावलीको नियम ३ उपनियम (२) मा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित विद्यार्थीसँग भएको प्रमाणसँगै आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझेर फैसला गर्ने भनिएको छ ।
त्रिविको विवरणमा पनि देखिन्छ कैफियत
अनलाइनखबरलाई प्राप्त त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा पनि उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ । २२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ रहेको उल्लेख छ ।
भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रविणता तहको सेसन २०३९/०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं–४, महाराजगञ्ज उल्लेख छ ।
यद्यपि, पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो ‘चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ । त्यसबेला ‘चारित्रिक प्रमाण–पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण–पत्र अनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ ।
परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रवेशिका परीक्षा सम्बन्धी विवरणमा उनको ठेगाना सतिश्वरा–१, तनहुँ उल्लेख छ । ८३८५२ बी सिम्बोल नम्बर भएका पाण्डेले द्वितीय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको देखिन्छ ।
त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले उपरथीको अवकाश उमेरहद ५७ भएकाले १ वर्ष ९ महिना अघि पाउनुथ्र्यो । सैनिक अधिकृतहरुका अनुसार, डेढ वर्षअघि अवकाश दिने कुरा पनि ‘सेफ ल्याण्डिङ’ गराउने विषय मात्र हो ।
‘१२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले २०४३ सालमा अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन्’, एक सैनिक अधिकृतले भने, ‘किनकि सेनामा अधिकृतमा भर्ना हुन १८ देखि २१ वर्षको समयसीमा छ ।’
यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका अशोक सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै १० फागुन २०७९ मा राजीनामा दिएका थिए ।
२०४३ सालमा भर्ना हुनै समस्या हुने भएपछि उपरथी पाण्डेले त्यसबेलै जन्ममिति कीर्ते गरेर जागिर खाएको हुनसक्ने अधिकृतहरु आशंका गर्छन् । त्यसमाथि छानबिन गर्न भन्दै प्रधानसेनापतिको कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेको छ ।
उजुरीमा उपरथी पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको फरक–फरक जन्ममितिको छानबिन गर्न माग गरिएको छ ।
सैनिक अधिकृतहरुका अनुसार, सेनामा विगतमा यस्तो विवाद हुँदा जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो ।
गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा तत्कालीन उपरथी जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, तत्कालीन सहायक रथी प्रदीप अधिकारी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीसहित अन्य कर्णेलहरुलाई यही अनुसार अवकाश दिइएको थियो ।
स्रोतका अनुसार, उपरथी पाण्डेको जन्ममितिका विषयमा पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो । थापाले जन्ममिति विवादमा परेका थुप्रै जर्नेलहरुमाथि छानबिन गरेर कैफियत देखिएकाहरुलाई अवकाशमा पठाएका थिए ।
तर, उनले छानबिनमा त्यसबेला आफू निकटहरु भने जोगाएको देखिएको एक सैनिक अधिकृतले दाबी गरे ।
‘राजेन्द्र क्षेत्री सेना प्रमुख हुँदा पनि तनहुँका भएकाले उनलाई सहज भयो, पूर्णचन्द्र थापाको पालामा पनि लमजुङ र तनहुँको भेगीय नाता लाग्यो’, ती अधिकृतले भने, ‘तत्कालीन प्रधानसेनापति थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट भएका कारण पनि पाण्डे जर्सा’ब छानबिनबाट जोगिएका थिए ।’
जंगीअड्डाका उच्च सैनिक अधिकृतहरुका अनुसार, तत्कालीन सेना प्रमुख थापा पाण्डेको जन्ममितिमा भएको कैफियताबारे जानकार थिए । तर, निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै उपरथीमा बढुवा गरिएको अधिकृतहरु बताउँछन् ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी भने उपरथीसम्म आउँदा पाण्डेको जन्ममितिको विषयमा पटकपटक निर्क्यौल भइसकेको अनलाइनखबरसँग दाबी गरेका थिए ।
‘हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट कागजातको सक्कल प्रमाण–पत्र जाँचपछि मात्र बढुवाको निर्णय हुन्छ, त्यो सबै जाँचेरै उहाँ यो दर्जासम्म आइपुग्नुभएको हो’, भण्डारीले अनलाइनखबरसँग भनेका थिए, ‘त्यसमाथि यो विषय पहिल्यै सम्बन्धित शिक्षण संस्थाबाट यकिन गरिसकेको कुरा हो, अहिले आएर निस्किएको कुरा होइन ।’
विवादित उपरथी
उपरथी पाण्डे जन्ममिति विवादमा मात्र नभइ, कूटनीतिक आचरण विपरीत कार्य गरेको विषयमा पनि आलोचित छन् । एक पूर्वउच्च सैनिक अधिकृतका अनुसार, उनले गएको जेठ अन्तिम साता संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रमपछि रात्रिभोजमा गरेको हर्कतलाई लिएर गम्भीर प्रश्न उठेको थियो ।
‘अन्य अधिकृतहरु भए कोर्ट मार्सल भइसक्नुपथ्र्यो, तर जंगीअड्डाले उनलाई साथ दियो’, ती अधिकृतले भने, ‘नभए उनको व्यवहार देशकै प्रतिष्ठामाथि प्रश्न उठ्ने खाल्को थियो ।’
स्रोतका अनुसार, त्यसबेला काठमाडौंको होटल सोल्टीमा आयोजित रात्रिभोजमा उपरथी पाण्डे नेपालस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी अमित शर्मासँग अशिष्ट रुपमा प्रस्तुत भएका थिए ।
नेपालीस्थित भारतीय दूतावासका ‘डिफेन्स विङ’का कर्णेल शर्मालाई उनले दुर्व्यवहार गरेको कार्यक्रममा सहभागीहरु बताउँछन् ।
भारतीय सेनाप्रति लक्षित गर्दै उनले अपमानजनक टिप्पणी समेत गरेको सैनिक स्रोत बताउँछ । विवादास्पद पृष्ठभूमि र जन्ममितिमा स्पष्ट कैफियत देखिएका कारण छानबिन गरेर मात्र उनलाई बढुवाका लागि सिफारिस गर्नुपर्ने माग उठिरहेको थियो ।