Breaking News

मुटु स्वस्थ राख्न कस्तो खाना खाने, कति व्यायाम गर्ने ?

मुटुका रोगहरू धेरै प्रकारका हुन्छन्। प्रत्येक रोगका आफ्नै कारण हुन्छन्। मुटुका रोगहरूमध्ये सबभन्दा बढी देखिने भनेको मुटुको रक्तनलीसम्बन्धी रोग हो।

अहिले आधुनिकीकरणले गर्दा यो समस्या बढेको छ। धूमपान, मद्यपान फेसनजस्तो हुनु, शारीरिक सक्रियता कम हुनु, खानपिनको लापरबाहीले गर्दा शरीरको मध्यभागमा मोटाइ बढेको छ त्यस्तै सुगर, प्रेसर अनि कोलस्ट्रोल बढेको छ। यस्ता कारणले मुटु रोगी समेत बढेका छन्।

प्रविधि र जनचेतनाले गर्दा सानो समस्या देखिनासाथ परीक्षण गर्ने क्रम बढेको छ। यसले गर्दा पनि मुटुका बिरामी धेरै देखिएका हुन्। कतिपय समस्या जन्मजात हुन्छन् भने कति समस्या उमेर बढेसँगै देखिन्छ।

हृदयघातको समस्या युवा अवस्थादेखि नै देखिन थालेको छ। वंशाणुगत कारण अनि बढ्दो उमेरले गर्दा मुटुको धमनीमा समस्या देखिन्छ।

मुटुको रक्तनलीसम्बन्धी रोग पुरूषमा धेरै देखिन्छ। तर सुगर प्रेसर भएका महिलालाई भने यसको खतरा रहन्छ। मुटुको भल्भको समस्या भने महिलामा धेरै देखिन्छ। शारीरिक सक्रियता भएकाहरूलाई मुटुको समस्या कम हुन्छ तर समस्या नै हुँदैन भन्ने होइन।

मुटुका बिरामीहरूको लागि हामीकहाँ विकसित देशमा हुने सबै खालका उपचार हुन्छन्। धेरै खर्चिला उपचार नेपालमा अझै भित्र्याउन सकिएको छैन।

सास फेर्न गाह्रो हुने, मुटुको धडकन गडबड हुने, छाती दुख्ने, बेहोस हुने, खुट्टा सुन्निने लगायतका समस्या देखिन सक्छन्।

कतिपय वंशाणुगत र बढ्दो उमेरका कारण हुने मुटुको समस्या बाहेकका कारणलाई हामीले कम गर्न सकिन्छ। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, आवश्यक मात्रामा व्यायाम गर्ने गरेमा मुटुको समस्या हुने खतरा कम हुन्छ। त्यस्तै उच्च रक्तचाप, कोलस्ट्रोल अनि सुगरको समस्यालाई नियन्त्रण गर्न सकियो भने मुटुको समस्याबाट जोगिन सकिन्छ।

हामीले कुनै पनि खाना खाँदा प्रोटिन, गेडागुडी, सागसब्जी र फलफूललाई जोड दिनुपर्छ। रातो मासु, धेरै चिल्लो, गुलियो खाना कम गर्नुपर्छ भने नुन पनि कम खानुपर्छ। यति गर्न सकियो भने खानाको सन्तुलन मिल्छ। यसका साथै जंक फुडलाई कम गरेर घरमै तयार पारेको खाना खानुपर्छ। हप्तामा पाँच दिन आधा घण्टा फटाफट हिँड्यो भने व्यायाम पुग्छ। यो सँगै ध्यान योग गर्न सके अझै राम्रो हुन्छ।

कुनै पनि खाना चाहिनेभन्दा धेरै खाइयो भने त्यो विष जस्तै हुन्छ। त्यसैले हरेक खाना ठीक्क खानुपर्छ। जस्तो एउटा व्यक्तिलाई १५ मिलिलिटर तेल चाहिन्छ। यसो भन्दैमा जोखेर खान सम्भव हुँदैन। तर एउटा आधार बनाउन भने सकिन्छ। त्यस्तै अण्डा खाने भन्दैमा दिनमै तीन\चार वटा अण्डा खान हुँदैन।

शरीरको तौल घटाउन भन्दै इन्टरमिटेन्ट फास्टिङ र किटो डाइट गरिन्छ। तर किटो डाइट धेरै गर्दा मुटुको समस्या देखिएको छ। इन्टरमिटेन्ट फास्टिङले तौल घटाउन सक्छ। तर यसलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने हो। त्यसैले कुनै पनि डाइट फलो गर्दा तत्कालको लागि मात्रै हेरेर हुँदैन। शरीरको तौल सन्तुलनमा राख्नको लागि सन्तुलित भोजन गर्नु नै उत्तम उपाय हो।

(उपप्राध्यापक एवं मुटुरोग विशेषज्ञ डा.स्मृति शाक्य त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छिन्।)

सेतोपाटीबाट

लेखक : डा. स्मृति शाक्य