प्रदेश १ को बिराटनगरमा २ जना र धनकुटामा १ जना कोरोना भाइरस संक्रमित पुष्टि

४ जेठ, विराटनगर । कोरोना भाइरसका मर्ने र संक्रमित थपिन क्रमसँर्गै आज भरखरै प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा संक्रमण भएका पुष्टि गरेको छ ।

यो सँगै संक्रमितको संख्या नेपालमा २९५ पुगेको छ ।