Breaking News

भोलिदेखि राहत र पुनर्स्थापनाको काम सुरु गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि राहत र पुनर्स्थापनाको काम सुरु गरिने बताएका छन् । शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आज उद्दार कार्यलाई प्राथमितका दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको दिनमा जे गर्नुपर्थ्यो राज्य र सरकारबाट त्यही गरिएको छ । भोलिदेखि राहत र पुनर्स्थापनाको काममा लाग्छौं। भोलि राहतका आवश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा जानेछौं ।’

कर्णालीका भूकम्प प्रभावितलाई दिने राहत र गर्ने पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले भोलि आइतबार बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसपछि विपत व्यवस्थापन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकहरूबाट पनि फोन आएको र आफूले मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी दिए ।

रूकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’