Breaking News

छिटो पूर्वतयारी गरौं, नत्र जाजरकोटमा भन्दा ठूला क्षति भोग्नेछौं

मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन ।

हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको भित्री भागमा विभिन्न चिरा बनेका हुन्छन् । चिराहरुमध्ये तीनवटा चिरा एकदमै ठूला-ठूला सिंगै हिमालयको दुई हजार किलोमिटरसम्मै छ । त्यसमध्ये भुइँचालो जाने त हजारौं चिरा हुन सक्छन् । कुनै पनि चिरामा फिसिक्क कम्पन हुन सक्छ । त्यति बेला यो पूर्वकम्प हो कि कम्प हो भन्ने कुरा खासै महत्वपूर्ण रहन्न ।

मूल कुरा के बुझ्नुपर्छ भने २०७२ सालमा गएको गोरखा भुइँचालोभन्दा निकै शक्तिशाली भूकम्प पश्चिम काँगडामा गयो । त्यो दुईवटा भुइँचालोको बीचमा यो क्षेत्रमा ठूलो भुइँचालो गएको देखिन्न । अहिले जाजरकोटमा आएको भुइँचालो मध्यम खालको हो । त्योभन्दा ठूलो भुइँचालो हाम्रो मानसिकतामा बसिसकेको छ । किनभने योभन्दा धेरै ठूलो भुइँचालो पनि आउन सक्छ ।

जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउन सक्छ । सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ ।

त्यसबीचमा आएको साँच्चिकै ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन, सानो थियो । त्यतिबेला काठमाडौं धेरै हल्लाएन पनि । त्यतिबेला रेखदेख नगएका, मर्मत नगएका मात्रै मन्दिर,घर बढ्ता भत्केका हुन् । असाध्यै जीर्ण भएका घर भत्किए । खासगरी ठूलो भुइँचालो आएकै छैन नि । त्यसकारण धन र जनको क्षति नहोस् भन्ने न हो । कत्रो भुइँचालोले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । परकम्पले हान्यो कम्पले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । हामीले आफूलाई विचार गर्नुपर्ने दुई थरीका भुइँचालो हुन् ।

एकदमै ठूलो ९० सालको जस्तो ८ म्याग्निच्युडभन्दा ठूलो हुनुपर्छ । एक अंक म्याग्निच्युडको भनेको १० गुणा ठूलो र ३२ गुणाभन्दा बढी इनर्जिङ हुने हुन्छ । यस्तो भूकम्प आयो भने त हामीहरुलाई मुलुक नै के होला भन्ने ठूलो डर हुन्छ । यसरी भनौं, आठ म्याग्निच्युडभन्दा ठूलो महाभूकम्प आउन बाँकी नै छ । त्यस्तो खालको महाभूकम्प नआएको ५०० वर्ष भइसक्यो । त्यसकारण महाभूकम्पलाई कुरेर बस्नुपर्ने अवस्था छ ।

तर ६ र ७ म्याग्निच्युडका भुइँचालो त आइरहन्छन् । आइरहेका पनि छन् । हामीकहाँ ८ म्याग्निच्युडको आउन सक्ने सम्भावना रहँदा ६ म्याग्निच्युडको भुइँचालोका लागि तयार हुनुपर्‍यो । ८ म्याग्निच्युडको भुइँचालो सय वर्षमा एक पटक आउँला तर ६ म्याग्निच्युडको भुइँचालो त दश–दश वर्षमा जान्छ नि । यसलाई नियमित प्रक्रिया नै मान्नुपर्छ । हाम्रो मुलुक नै त्यस्तो ठाँउमा छ चार, पाँच, ६ म्याग्निच्युडको भुइँचालो गइरहन्छन् । अब त्यति साना र नियमित खालका भुइँचालोमा पनि जनधनको नोक्सान हुनु भएन । त्यसपछि मात्रै हामी ठूलो भूकम्पको पूर्वतयारीमा लाग्न सक्छौं ।

यो किन पनि भने जाजरकोट रुकुमतिर जुन घटना हिजो राति भयो, त्यहाँ तुलनात्मक बलिया संरचना भएको भए रातिको भूकम्प सामान्य घटना मात्रै हुन जान्थ्यो । हामी ८ रेक्टर स्केलको भूकम्पका लागि तयार हुन सक्नेबित्तिकै ६ रेक्टर स्केलको कम्पन सामान्य हुन जान्छ ।

पश्चिम नेपालमा यस्तो भूकम्प कुनै पनि बेला जान सक्छ भनेर पूर्वानुमान छँदैथियो । हामीले समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरु चुकेकै हुन् । ५, ६, ७ को भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । नेपालमा जम्मा ८० लाख घर हो । १० लाख भूकम्प प्रतिरोधी बनायौं नि । त्यो बाँकी रहेको हरेक वर्ष एक दुई लाख थपिन्छन्, त्यसलाई क्रमश: बलियो बनाउँदै जाने हो भने १०-२० वर्षमा हामीले मध्यम खालको सानो भुइँचालोलाई थेग्ने बनाउँछौं ।

६ रेक्टर स्केलको भुइँचालोलाई थेग्न सक्छौं भने ७ लाई आधा थेगिएला । ८ लाई एक चौथाइ थेगिएला । यो तरिकाले जानुपर्ने हो । तर हामी चुकेका छौं ।

(भूकम्प जोखिम न्यनीकरणविद् दीक्षित नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का कार्यकारी निर्देशक हुन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

अनलाइनखबरबाट

लेखक : आमोदमणि दीक्षित