Breaking News

भूकम्पपीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु

भूकम्पपीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बिहान १० बजेबाट गृह मन्त्रालयमा सुरु बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व छ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाईसकेको प्रवक्ता नारायण भट्टराईले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्।

ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्।

सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्दार र उपचारमा कुनै कमी हुन नदिन निरन्तर दिएका छन्। पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको गृहमन्त्रालयको भनाई छ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत र सशस्त्र प्रहरीका राजेन्द्र खड्काले भौतिक क्षतिको विवरण भने यकिन भैनसकेको बताएका छन्।