१८ कात्तिक, काठमाडौं । गएराती जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।
राति ११ः४७ बजे जाजरकोटको बारेकोट(१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।
भूकम्पले माटोको जोडाइ भएका अधिकांश घरहरु भत्किएका छन् ।
भूकम्पले घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । अस्पतालहरू घाइतेले भरिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् । उनीहरुलाई राहत वितरणको प्रयास भइरहेको छ ।
गम्भीर घाइतेहरुलाई नेपालगञ्ज, सुर्खेततर्फ रिफर गरिएको छ ।