हरेक दिन ६ हजारका दरले उद्दार गर्ने उच्चस्तरीय समितिको मन्त्रीपरिषद् संग प्रस्ताव

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।

यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ ।

केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।