कोरोना स्वास्थ्य सामाग्री लिन वाइडबडी जहाज भोलि बेलुका चीन तर्फ उड्दै

४ जेठ, काठमाण्डौ । सरकारले कोरोना स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई गएको चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने भएको छ । तर ग्वान्जाओ विमास्थलमा भएको व्यस्तताले गर्दा उडानको लागि ढिलो भएको सेनाले जनाएको छ ।

पहिलो उडानबाट १८ टनसम्म स्वास्थ्य सामग्री ल्याइन्छ होला । त्यसपछि दोस्रो उडानको समय तय गर्ने प्रयास गर्छौं । सैनिक प्रवक्ता विज्ञानराज पाण्डेले बताएका छन् ।

सेनाले यसअघि नै दुईवटा वाइडबडीमार्फत अरु स्वास्थ्य सामाग्री स्थलमार्गबाट ल्याउने तयारी गरिसकेको थियो। जहाजबाट ल्याउन ढिलो भएको कारणले सेनाले स्थल मार्गबाट १० ट्रक स्वास्थ्य सामाग्री ल्याइसकेको छ ।

२ सय ६५ क्युविकका १० वटा कन्टेनर हिजो साँझ साढे ६ बजे काठमाडौं आइपुगेका हुन् । ती कन्टेनरमा झण्डै ८ टन सामाग्री भएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार ९ सय ५२ क्युविक मिटरका कन्टेनरहरु खासा आइसकेका छन् भने बाँकी स्वास्थ्य सामाग्रीहरु पनि ल्याउने काम भइरहेको छ ।

अहिले आएका सामाग्रीहरुमा पिपिई, एन ९५ मास्क र पिसिआरका लागि किट्सलगायत छन् ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ । स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ ।