Breaking News

मेचीकाली अभियाना एकीकृत समाजवादीको आत्मविश्वास जनताको साथ आगमी चुनावमा एक्लै लड्छौं

२८ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गएको १४ असोजदेखि मेची किनारबाट सुरु गरेको जागरण अभियान आज सुर्खेतमा समापन गरेको छ । यो अभियानले एकीकृत समाजवादीमा आत्मविश्वास दिएको छ की, ०८४ सालको चुनावमा देशैभर एक्लै प्रतिस्पर्धा गर्न सक्ने आँट समेत भएको बताएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा कलम चिह्नसँग मात्रै अरुको एकता हुन्छ । कलम चिह्न छोडेर अरुसँग एकता हुँदैन भन्ने सन्देश दिएका अनुभूति भएको अभियानमा रहेका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले बताएका छन् ।

अभियानका क्रममा अहिलेसम्म १० हजार भन्दा बढीले पार्टी प्रवेश गरेको एकीकृत समाजवादीले बताएको छ ।

अभियानका क्रममा करिब ३ लाख जनासँग प्रत्यक्ष अन्तर्क्रिया भएको र १५ जिल्लामा उद्योग वाणिज्य संघ र व्यवसायीहरुसँग कुरा गरेको एकीकृत समाजवादीले जनाएको छ । १७ जिल्लामा शिक्षकसँग छलफल, सुकुम्वासी र मुक्त कमैयाँलगायत समुदायसँग छलफल भएको बताएको छ ।

एकीकृत समाजवादीले अभियान सञ्चालन गरेका बेला कोशी प्रदेशमा पहिचानको आन्दोलन चलिरहेको थियो भने मधेशका केही ठाउँमा सामाजिक सद्भाव बिथोल्ने घटना भएका थिए । अभियानका क्रममा सर्वसाधारणले पार्टी उनीहरुको मुद्दामा गम्भीर रहेको बताएको छ ।

अभियानका क्रममा ५५ वटा सार्वजनिक कार्यक्रम गरिएको र त्यहाँ उत्साहजनक सहभागिता देखिएको थियो ।