Breaking News

इजरायलको तत्काल स्वीकृति बन्द श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भएकाहरुको यात्रा समेत रोकियो

२८ असोज, काठमाडौं । हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणको प्रत्याक्रमणस्वरुप इजरायलको तर्फबाट भीषण बमबारी जारी छ । यसअघि हवाई हमलामा केन्द्रित इजरायल स्थल क्षेत्रबाटै हमलामा जुटेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको छ । बढ्दो जोखिमका बीच नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ । यससँगै वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको छ । साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।

यस्तै अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ । जारी द्वज्द्वमा परी नेपाली नागरिकले समेत ज्यान गुमाउनु परेको भन्दै विभागले यस्तो एडभाइजरी जारी गरेको हो ।