२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।
कांग्रेस(माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ ।
मुख्यमन्त्री कार्कीसँग विश्वासको मत फेस गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको छ साथै विश्वासको मत नपाउने अवस्था आए राजीनामा आउँछ सक्छ पनि तर उनी छलफलमा रहेकाले अघिले नै यसै भन्न सकिदैन ।
उपधारा ५ को गृहकार्यमा दल
वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्न सक्छ ।
कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ ।
‘यो सरकारले विश्वासको मत पाउँदैन्, त्यसपछि कांग्रेस सहितको गठनबन्धन दलसहितको सरकार बन्न पनि सक्छ ।
संवैधानिक व्यवस्था फरक भए पनि सांसद दलीय भएका कारण उपधारा ५ मा गठबन्धन दलको निर्णय अनुसार अगाडि बढ्न सक्छन दलहरु ।
उपधारा ५ अनुसार सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र इतर समूहका नेता केदार कार्की दाबेदार छन् ।
गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । नेकपा एकीकृत समाजवादी पार्टी आङ्बोलाई नै अघि सार्नुपर्ने पक्षमा छ ।
यसअघि दुई पटक कांग्रेसले नेतृत्व गरेका कारण यो पटक आफूले पाउनुपर्ने माओवादीको अडान छ ।
दुई पटक कांग्रेसले नेतृत्व गरेका कारण यो पटक स्वभाविक रुपमा माओवादी केन्द्रले पाउनुपर्ने उनको भनाइ छ ।
माओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाए राप्रपालाई पनि समेट्न सक्छ । । ‘राप्रपा एमालेसँग रहँदा उता विश्वासको मत पुग्दैन, चुनावमा जाने माहोल पनि छैन । राप्रपा गठबन्धनसँग आउँदा स्थिर सरकार बन्न सक्ने अनुमान समेत लगाइएको छ । तर अहिले नै कुनै निर्णय भने भएका छैनन् ।
उपधारा ५ अनुसार सरकार बन्ने हुँदा अवस्था हेरेर अघि बढ्ने राप्रपा स्रोतले बतायो । प्रतिपक्षी गठबन्धनसँग सहकार्य गरेर जान सक्ने अवस्था रहन सक्जे तर त्यसका लागि छलफलबाट मात्रै टुंगोमा पुग्न बताइएको छ ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् ।
कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा
छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ ।
राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यवधि निर्वाचन हुनेछ ।