चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेका अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका छन् । पार्टीको समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए । ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन’ अध्यक्ष नेपालले भने, ‘हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं ।’ अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेको भन्दै लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जाने बताए ।
प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको बताउँदै अध्यक्ष नेपालले भने, ‘अहिले पनि पुरानो व्यवस्था फर्काउने खतरनाक योजना बनाइरहेका छन् ।