काठमाडौं । नेकपा एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान कोशी र मधेश प्रदेशमा सम्पन्न भएको छ । बिहीबार रौतहट र बारामा समाजवादी जागरण अभियानअन्तर्गत पत्रकार सम्मेलन, आमसभा र कोणसभा भएका छन् ।
रौतहटको गरुडा, मौरापुरलगायतका स्थानमा सभा भएका छन् । साइडलाइन भेटघाट पनि भएका छन् ।
एकीकृत समाजवादीका अनुसार शुक्रबार बागमती प्रदेशमा जागरण अभियान सुरु हुनेछ । जागरण अभियानका क्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतले मुलुक रुपान्तरणको एजेण्डा र अभियानको औचित्यबारे स्पष्ट पारेका छन् ।
रोजगारी, सुशासन र समृद्धिको नारासहित यही असोज १४ गतेदेखि एकीकृत समाजवादीले मेची–महाकाली समाजवादी जागरण अभियान संचालन गरिरहेको छ । अभियान असोज २८ गतेसम्म जारी रहने छ । अभियानमा दैनिक हजारौँ मानिस सहभागी हुँदै आएका छन् ।
बारा जिल्लाको जीतपुर सिमरा न.पा.को जीतपुरमा असोज १८ गते भएको मेची महाकाली ‘समाजवादी जागरण अभियान’को क्रममा पाँच हजारभन्दा बढीको जनसहभागिता थियो । सोहीक्रममा पाँच हजारभन्दा बढी पार्टी प्रवेश गरेको एकीकृत समाजवादीले जनाएको छ ।
गुण्डा नाइके रिगलको माफीबारे थाहा छैन : माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुण्डा नाइके योग ढकाल ‘रिगल’को आममाफीबारे आफुहरुलाई थाहा नभएको बताएका छन् । जागरण अभियानका क्रममा रौतहटमा रहेका नेता नेपालले उनले गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् ।
उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले यस विषयमा छलफल गरेको पनि छैन ।’ त्यस्तै उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ ।’
साथै चीनले पनि नेपालको नयाँ नक्सालाई मान्यता दिनुपर्ने उनको भनाई थियो । श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ थियो ।