हिजो रिहर्सन आज अपराह्न ४ बजे राष्ट्रपति बाट सरकारको बार्षिक बजेटको नीति तथा कार्यक्रम प्रस्तुत हुंदै

२ जेठ, काठमाण्डौ । नेपाल सरकारको आ.ब. २०७७र०७८ को बार्षिक बजेटको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सांसद र अन्य आगन्तुक सबैलाई पौने चार बजेभित्रै आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचित समेत गरिसकेको छ ।

हिजो बिहीबार बजेटको रिहर्सन गरिएको थियो । नेपाली सेनाका अधिकारी, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, कानुन मन्त्री, कर्मचारी, मर्यादापालकसहितको टोलीले बैठक कक्षमा रिहर्सल गरेको हो । रिहर्सलमा राष्ट्रपतिको रुपमा नेपाली सेनाका एक महिला अधिकारी सहभागी थिइन् ।

पूर्वतयारीबारे बुझ्न शितल निवासबाट सेनाका अधिकारीसहितको टोली संसद भवन आएको थियो । ती अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमका कारण यसपटक संसद भवनमा आउने राष्ट्रपतिसहितको टोली सानो हुने छ । ‘राष्ट्रपतिको आगमनको बेलामा विगतको जस्तो तामझाम हुने छैन ।

चार जना सांसद निलम्बनमा परेका, नौ जनाले कोरोना परीक्षण नगराएका र राष्ट्रियसभामा एक जना मनोनित हुन बाँकी रहेकाले ३२० जना सांसद संघीय संसदको बैठकमा सहभागी हुने छन् । स्थान अभाव हुने भएकाले सांसदहरुलाई बालकोनीमा पनि बस्ने व्यवस्था मिलाइएको छ ।

संघीय संसदको बैठक कक्षमा दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । ठीक चिह्न लगाएका सिटमा मात्र बस्न पाउने गरी संसद सचिवालयले स्थान छुट्याइदिएको छ ।

संसद सचिवालयले संसद बैठक कक्षभित्र प्रवेश गर्दा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य गरेको छ । रिपोर्ट नेगेटिभ भएकाहरुमात्र बैठक कक्षभित्र प्रवेश गर्न पाउने छन् । त्यसैले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी, मर्यादापालक सबैको स्वास्थ्य परीक्षण गराइसकिएको छ ।