Breaking News

‘वामपन्थी खोल ओढेकाहरु दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्,

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार बुटवलमा एमाले लम्बिनी प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरु प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु । १९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुप¥यो ?’ उनले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवादभन्दा पनि आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओदीले भने, ‘तपाईँहरु बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो ।’
अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए ।

‘यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ’ ओलीले भने, ‘अरु पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो ।’ पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी र माओवादीलाई संकेत गर्दै ओलीले भने, ‘वामपन्थी खोल ओढेकाहरु दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्, तिनै शक्तिहरू राष्ट्रवादी भन्दै हिँड्दैछन् ।’ उनले माओवादीसँगको एकता कम्युनिष्ट शक्ति बलियो बनाउन गरिएको भएपनि कुण्ठित मनसाय राखेकाहरूबाट पार्टी कब्जा गर्ने गलत मनसाय भएर समस्या आएको स्पष्ट पारे ।

उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डप्रति प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘रोप्ने बबुलको रुख खोज्ने स्याउ ? बनाउने सरकार अनि खोज्ने विकास, यस्तो । हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।’

अध्यक्ष ओली सरकार र प्रधानमन्त्रीप्रति कडारुपमा उत्रिए । ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै भने, ‘बंगलादेश जाने बाटो पहिले नेपालले पाएका हौँ, अनर्गल प्रचार हो, कुन बाटोका लागि जमिन दिने ? पैतृक सम्पत्ति हो र जमिन दिने, प्रचण्डलाई अरूलाई दिने अधिकार छैन, यस्ता त प्रधानमन्त्री छन् । इपिजीको कुरा किन नगरेको भन्दा रिसाउँछन् भनेर जवाफ दिए ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै भने, ‘गेरुवस्तु धारणम् मुर्रा भैसी ताननम् । राष्ट्रिय स्वाभिमानमा हामी तलमाथि हुन दिँदैनौँ, पुर्खाले हामीलाई राखेका हुन्, हामी कहिले पराधीन भएनौँ, यसमा कोहीसँग अधिकार छैन ।’

उनले थपे, ‘भ्रष्टाचारतिरको मेरो अभियान रोकिन्न भनेर हुन्छ, विरुद्ध हटाए हुन्छ ? सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका घटना सबै गुपचुप बनाइँदैछ अनि उनीहरूले एमाले र एमालेका नेताहरू जोडिएका विषय कुनै चर्चाका लागि ल्याइने भन्दै हामीले खुलारुपमा सबैभन्दा पहिले ती पहिले छानबिन गर्न चुनौती दिएका छौँ । तर, उनीहरू त्यो छानबिन गर्दैनन् र हल्ला गर्दैनन् । कारण यसमा एमालेको दोष नभेटिने भएपछि डराएको हो ।’

अध्यक्ष ओलीले एमालेले भ्रष्टाचार गर्न राजनीति नगरेको समेत बताए । एमाले सानासाना विषयमा अल्झेर अल्झने पार्टी नभएको बताउँदै ओलीले भने, ‘एमालेका बिग्रिएका फल केही वर्षअघि गइसके, एमालेका अब केही गलत सोच भएकाहरू छैनन्, एस र माओवादीमा रहेका असल कार्यकर्ताहरु, नेताहरू एमालेमा फर्कन आव्हान, मिसन ०८४ प्रचण्डले एमालेमा पहिरो गयो भनेछन्, उनीहरूजस्तै धेरैले एमाले भत्काउन खोजेर एमाले पुरानै ठाउँमा रहेको, एमाले माटो र खरानीको डल्लो होइन पहिरो जाने ?’

अध्यक्ष ओलीले प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमालेविरुद्ध अनर्गल बोल्न थालेको बताए । उनले भने, ‘प्रचण्डले जनता सरकारमा उतार्ने रे ? के का लागि ? सरकार सडकमा उत्रने एमालेको विरुद्ध जाने रे ? अवस्था यस्तो छ । तर यो हाम्रो लागि अवसर हो ।’