काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको आरोप लगाएको छ । जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले यस्तो बताएका हुन् ।
जसपानिकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले आयोजना गरेको ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषय विचार गोष्ठीमा उनले संघीयता र गणतन्त्रका लागि लडेका जसपाका अध्यक्ष यादवलाई विवादमा तान्न, राजनीतिक रूपमा समाप्त गर्न षड्यन्त्रपूर्वक गौर घटनालाई बाहिर ल्याइएको बताएक हुन् ।
घटनास्थलमा उपस्थित नै नभएका व्यक्तिलाई घटनामा मुछिएको बताउँदै केही व्यक्तिलाई फँसाउन खोजेको उनको भनाइ थियो ।
उनले तत्कालीन मधेसी जनअधिकार फोरमले गौर राइस मिलमा कार्यक्रम गर्ने भनेर स्थानीय प्रशासनबाट अनुमति लिएको तर माओवादीले दुई दिन अगाडि कार्यक्रमको घोषणा गरेर प्रचार प्रसारमा लागेको बताउँदै भने, ‘त्यसबेला माओवादीले स्थानीय प्रशासनसँग अनुमतिसमेत लिएको थिएन । स्थानीय प्रशासनले पटक–पटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दै सामूहिक छलफलका लागि बोलाउँदा समेत तत्कालीन माओवादी नेता प्रभु साह बैठकमा आएनन् । यदि गौर घटनाको कोही दोषी छन् भने त्यो प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ ।’
गौर घटनाबारे त्यतिबेला भएका विभिन्न अध्ययन प्रतिवेदनलाई सरकारले सार्वजनिक गरे सबै कुरा स्पष्ट हुने उनको भनाइ छ ।
उपेन्द्र यादवमाथि कुनैपनि किसिमको षड्यन्त्र भयो भने त्यो राज्यका लागि पनि हानिकारक हुने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार जोगाउनका लागि यो षड्यन्त्र गरिरहेको दाबी गर्दै उनले जसपासँग भिड्ने दुस्साहस नगर्न चेतावनीसमेत दिए । ‘फेरि त्यस्तै आन्दोलन नहुने भन्न सकिँदैन’ उनले भने, ‘बेलैमा प्रधानमन्त्री प्रचण्डलाई सचेत रहन आग्रह छ ।’