१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले बैठक अवधिभर खाने बस्ने व्यवस्था आफैं मिलाउनु पर्ने भएको छ । खाजा, पानी र स्टेशनरीको व्यवस्था भने पार्टीले गर्नेछ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक अवधिभर बैठकमा सहभागीहरुले खाने–बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने बताए ।
बैठकमा हुने खर्च पार्टीका नेता–कार्यकर्ताहरुको लेबी र केन्द्रीय सदस्यहरुको प्रवेश शुल्कबाट व्यवस्थापन गर्ने माओवादीले जनाएको छ । केन्द्रीय समिति बैठकमा सहभागीहरुलाई जनही पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना केन्द्रीय आयोगका सदस्य र १०० जना प्रदेश पदाधिकारी गरी जम्मा ७५८ जना सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै विचार मिल्ने पार्टीसँग एकता गर्ने लगायतका विषयमा छलफल हुने छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । त्यसअघि महासचिव देवप्रसाद गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराउने छन् ।
बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीको तयारी छ ।