बजेटमाथिको छलफलमा बोल्न नदिएको रिसमा सांसदहरु सभामुखमाथि खनिए

३१ वैशाख, कठमाडौं । प्रतिनिधिसभा संसदमा प्रि बजेटमाथिको छलफल भइरहेको छ । यसैको क्रममा आज बसेको संसदको बैठकमा सांसदहरुले बोल्न नपाएको भन्दै सभामुख अग्नि सापकोटाको संसदभित्रै विरोध गरेका छन् । सत्तारुढ नेकपाका कै सांसदहरुले आफूहरुलाई सभामुखले बोल्न नदिएको भन्दै उठेर आक्रोश पोखेका
छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा नाम प्रास्ताव भएको र सोही अनुसार बोल्ने समय निर्धारण गरेको भन्दै सांसदहरुलाई बस्न आग्रह गरे । तर उनीहरुले सुरुमै पालो आउनुपर्नेमा बोल्न नपाएको भन्दै आक्रोश पोखेका छन् ।

बैठकमा अधिकांश सांसदहरुले धारणा राखिसकेपछि सभामुख सापकोटाले सांसदहरुको बोल्ने समय सकिएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बोल्न समय दिएपछि बोल्न पालो कुरेर बसेका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

नेकपाकै सांसद गंगा चौधरीले आफूलाई हेपेको भन्दै आक्रोश ब्यक्त गरिन् । अन्य सांसदहरुले पनि बोल्ने ठाउँमा पनि बोल्न नदिएको भन्दै सभामुखमाथि उनी खनिए की थिइन । सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र समय धेरै नरहेकोले बस्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरु बस्न मानेनन् । उनले पछि बोल्न समय दिने भनेर सभामुखले सम्झाए पनि उनीहरुले मानेका थिएनन् ।