आजबाट लिपुलेकमा शसस्त्रको निगरानीमा (बिओपी) स्थापना

३१ वैशाख, कठमाडौं । हालै मात्र भारतीय पक्षले एकलौटी रुपमा लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी चीन जोड्ने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा उत्पन्न भएको राजनीतिक तरङ्ग र बिरोधका बीच सीमा रक्षाका लागि भनेर सरकारले आज बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली त्यहाँ पठाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।
सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो । सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज लिपुलेक पुगेको बताएका छन् ।

सरकारले गत मंसिरमा नै बिओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो ।
मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।