काठमाडौँ । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।
पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढेको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।
चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।
चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।