२५ असार, काठमाडौं । दलहरुबीच सहमतिपछि खुलेको संसद बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले २० असारदेखि गर्दै आएको संसद अवरोध हटाएको छ ।
१८ असारमा सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन उनी (प्रितम) धेरैचोटी दिल्ली गएको’ अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा माग्दै संघीय संसदको दुबै सदन अवरुद्ध गर्यो ।
तीन दलका शीर्ष नेताहरुबीच आइतबार प्रधानमन्त्रीले स्पष्टीकरण दिने र अवरोध हटाउने सहमति भएपनि भाँडियो ।
सोमबार फेरि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि सहमति जुट्यो । लगत्तै सुरु भएको संसदमा एमाले सांसद गोकुल बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनले विवादास्पद अभिव्यक्तिमाथि प्रश्न उठाए ।
अनि प्रधानमन्त्री प्रचण्डले रोष्ट्रममा उभिएर करिव ४८ मिनेट लामो स्पष्टीकरण दिए ।
उनले सुरुमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई संसद अवरुद्ध गरेको भन्दै असन्तुष्टि जनाए । प्रतिपक्षले उठाएको प्रश्नमा सुरुदेखि नै आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले भने, ‘म त सुरुदेखि स्पष्ट पार्नको लागि पर्खेर बसेको थिएँ । मलाइ थाहा छैन किन संसद अवरुद्ध गरियो ?’
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग गर्नुको कारण आफूले बुझ्न नसकेको उनले बताए । प्रतिपक्षलाई प्रश्न उठाउन र राजीनामा माग गर्नसक्ने भएपनि स्पष्टीकरणको मौका पनि नदिएको भन्दै उनले भने, ‘के मैले यो सम्मानित सदनसमक्ष उभिएर यथार्थ के हो ? मेरो कमजोरी कहाँनेर हो भनेर मैले भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म संसद अवरुद्ध गरियो ?’
प्रतिपक्षले माग गर्नेबित्तिकै राजीनामा दिनुपर्ने अभ्यास स्थापित गरिए त्यसको असर के पर्छ भन्ने प्रश्न गरेका प्रधानमन्त्री प्रचण्डले कुनै पनि माग राख्दा त्यसबाट पछाडि हट्ने ठाउँ नराख्न प्रतिपक्षी दलहरुलाई सुझाव समेत दिएका छन् ।
गम्भीर प्रश्नको भावुक जवाफ
प्रचण्डले श्रृङ्खलावद्ध रुपमा ‘नेपालको प्रधानमन्त्री भारतले बनाउँछ’ भन्ने सन्देश दिन खोजेको र पछिल्ल्लो अभिव्यक्तिले देशको स्वाभिमान गिरेको एमालेको निष्कर्ष थियो ।
तर सोमबार प्रचण्डले आफ्नो अभिव्यक्ति भावनात्मक मात्र भएको जवाफ दिएका छन् । सरदार प्रितम सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको र ०६८र०६९ मा जेठी छोरी ज्ञानुलाई क्यान्सरको उपचारका क्रममा दिल्लीस्थित उनकै फ्लाटमा बसेको स्मरण गरे ।
त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’
हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको र भावुक भएर बोलेको बताए ।
‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के रु’ प्रधानमन्त्रीको हैसियतमा नबोल्नुपर्ने स्वीकार बोलेको भन्दै उनले भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’
उनले अगाडि भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिन, ज्ञानुको बुबा भएर बोल्न पुगेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगे । प्रितम सिंहको सदायताको निम्ति धन्यवाद दिन पुगे ।’
प्रधानमन्त्री भएपछि मनले होइन, मष्तिस्कले बोल्नुपर्ने भन्ने बुझेको भएपनि कहिले मन त कहिले मस्तिकले बोल्ने आफ्नो स्वभाव भएको र ६९र७० वर्षको उमेरमा कमजोरी गर्दिन भन्दा पनि सच्याउन गाह्रो परेको उनले बताए ।
रोष्ट्रममा उभिएर प्रचण्डले भने, ‘‘स्पष्ट सोचका बाबजुद त्यो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । यसअघिका कतिपय टिप्पणीहरु, वक्तव्यहरुमा देखिने भावहरुमा सम्मानीत सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु ।’
संघीय संसद सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङ, कुनै पनि प्रधानमन्त्रीले यसरी रोष्टममा उभिएर यसरी माफी मागेको आफूलाई थाहा नभएको बताउँछन् ।
‘सामान्यतया क्षमा याचना गर्ने त हुन्थ्यो, त्यो पनि मन्त्रीहरुबाट’ पूर्वमहासचिव गुरुङ भन्छन्, ‘गल्ती बोलेपछि स्पष्टीकरण माग गर्न पाइयो, स्पष्टीकरण दिन पाइयो ।प्रधानमन्त्रीले यो हदसम्म माफी माग्ने र राजीनामा माग्नेहरु पनि सहजै ब्याक हुने दुवै प्रवृत्ति इतिहासमा स्मरणयोग्य छन् ।’