हाम्रो देशको निर्वाचन प्रणालीले कुनै दल एक्लैले बहुमतको सरकार बनाउने कुरालाई कल्पनाभन्दा बाहिर राखेको छ । संविधान जारी भएयता सम्पन्न दुईवटा प्रतिनिधिसभाको निर्वाचन परिणामले पनि त्यो कुरा पुष्टि गरेको छ । त्यसैले दलहरुबीच सहकार्यको संस्कृति विकास हुनु जरुरी छ ।
जसरी संविधान निर्माण गर्दा सबै दलहरुबीच सहकार्य भएको थियो, त्यसैगरी संविधान कार्यान्वयन गर्दै जाने कुरामा पनि दलहरुबीच सहकार्य संस्कृतिको आवश्यकता पर्दछ । खासगरी विचार मिल्ने दलहरुबीचको सहकार्य प्राकृतिक भए पनि नेपालमा त्यो असफल भएको छ ।
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य प्रतिनिधिसभादेखि प्रदेशसभासम्म कम्युनिष्ट पार्टीको बहुमत थियो । प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमत रहेको कम्युनिष्ट पार्टीहरु मिलेको भए देशमा राजनीतिक अस्थिरता समाप्त हुन्थ्यो र देश आर्थिक समृद्धि र सुशासनको बाटोमा अग्रसर हुन्थ्यो ।
दुर्भाग्य, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षको लागि जनताले दिएको बहुमत साढे तीन वर्ष बित्दा नबित्दै ध्वस्त पारे । ओलीको प्रतिगमनकै कारण माओवादी अलग भयो । एमाले विभाजन भयो । त्यसको परिणामस्वरुप २०७९ को निर्वाचनमा एमाले प्रतिपक्षमा बस्न बाध्य हुनुपर्याे ।
एमाले प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्नुपर्नेमा उल्टै सरकार ढाल्ने षड्यन्त्रमा सामेल भएको छ । पाँचदलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा प्रस्ताव गरे ।
ओलीको नियत ठीक थियो भने आफैँले प्रस्ताव गरेका प्रचण्डलाई विश्वासमा लिएर अगाडि बढ्नु बुद्धिमानी हुन्थ्यो । तर, दुर्भाग्य तिनै ओली प्रचण्डलाई ढाल्ने कुबाटो कुर्दैछन् । प्रचण्ड ढालेपछि को प्रधानमन्त्री बन्छन् त्यसले आकार ग्रहण गरिसकेको छैन । तर, नेपाली कांग्रेसको साथ पाउदासम्म प्रचण्डको सरकार ढल्ने छैन ।
नेपाली कांग्रेसले पनि के कुरा बुझ्नुपर्छ भने पाँचदलीय गठबन्धनकै कारण राष्ट्रपति जस्तो गरिमामय पद पायो । २०७४ सालमा हराइसकेको कांग्रेस गत निर्वाचनमा पहिलो दल बन्यो ।
संसद् पुनःस्थापना भएपछि देउवाले गठबन्धनकै कारण सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यसैले कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, ठूलो कुरा संविधानको रक्षाको रक्षा हो ।
मदन भण्डारीले भनेझैं एउटा माघले जाडो जाँदैन । त्यसैले कांग्रेस–ओलीको उस्काहटमा लाग्नु हुँदैन । किनभने, ओली पुस ५ पछि निरन्तर यो संविधान ध्वस्त पार्न उद्यत छन् । धमिलो पानीमा माछा मार्ने ओलीले दाउ हेर्दैछन् । त्यो अवस्था आउनु भनेको फेरि पनि राजनीतिक अस्थिरता निम्त्याउनु हो ।
पटक–पटक राजनीतिक अस्थिरताले पुराना पार्टीहरुप्रति नयाँ पुस्ताको मोह भंग हुँदै गएको छ र नयाँ पार्टीहरुप्रति युवापुस्ता आकर्षित हुँदै गएका छन् । युवापुस्तालाई यो अवस्थामा पु¥याउने पनि ओली प्रवृत्ति नै हो । कुनै बेला ओलीलाई महान् राष्ट्रवादी बनाउने तिनै युवापुस्ता अहिले रवि लामिछानेलाई राष्ट्रवादी बनाउँदै हिँडेका छन् ।
यो अराजक सोच हो, नेपाली राजनीतिमा अराजक सोचले घरजम गर्दै गयो भने देशले कुनै पनि बेला युक्रेनको नियति भोग्नु नपर्ला भन्न सकिँदैन । त्यसैले दलका नेताहरुले राजनीतिक स्थिरता कायम गर्न पनि सहकार्यको संस्कृतिलाई जोड दिनुपर्छ । सत्ताको लागि नैतिकता गुमाउने काम गर्नु हुँदैन ।
दृष्टिबाट