बालुवाटारमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखेलको सातो लिने नै गरी झपारे

३० वैशाख, काठमाडौं । आजै एकैदिन नेपालमा कोरोना संक्रमित ८३ जना थपिएपछि आज मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्टि मात्रै जनाएनन् सिफारिस गर्ने नेतृत्वकर्ता उपप्रधानमन्त्री समेत रहेका समितिका संयोजक ईश्वर पोखरेलसँग आक्रोशित नै बने ।
बैठकको सुरुमै प्रधानमन्त्री ओेलीले कोरोना संक्रमणबारे धारणा राखेका थिए ।

आधाघण्टा भन्दा बढी समय कोरोनाबारे ब्रिफिङ गरेका ओलीले काठमाडौमा पनि लकडाउन छ र ? भनेर व्याङ्ग्यात्मक प्रश्न गरेका थिए ।
केही दिनदेखि काठमाडौंका सडक नै जाम हुन थालेका दृश्य सञ्चार माध्यममार्फत आफूले देखेको भन्दै प्रधानमन्त्री ओलीले ‘के लकडाउनमा गाडी जाम हुन्छ ? कस्तो लकडाउन हो यो’ भन्दै दोस्रो प्रश्न गरेका थिए ।
‘मलाई त काठमाडौं लकडाउनमा छ भन्ने विश्वास छैन । अनावश्यक गाडीहरु पनि गुडिरहेको, कपडा पसलहरु समेत खुलेको र सडकमा यातायात जाम भएको दृश्य देखिन्छ । तपाईंहरु यसैलाई लकडाउन मान्नुहुन्छ भने बेग्लै कुरा’, प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका संयोजक समेत रहेका मन्त्री पोखरेलतर्फ संकेत गर्दै भनेका थिए ।
जवाफमा पोखरेलले अत्यावाश्यक सेवाका क्षेत्रलाई लकडाउन खुकुलो पारेको जवाफ दिएका थिए । पोखरलको जवाफबाट पनि प्रधानमन्त्री ओलीले चित्त बुझाउन सकेनन् ।
‘लकडाउनको बेवास्ता गर्दा अरु देशमा के के भएको छ ? तपाईंहरुलाई पनि थाहा नै होला नि । मानिसहरुको जीवनरक्षा ठुलो कुरा हो । त्यसपछि व्यापार व्यवसायको कुरा आउँछ’, ओली त्यतिमा मात्रै रोकिएनन् । उनी अघि बढ्दै भने, ‘मानिस नै नरहे केलाई चाहियो धनसम्पत्ति र सुनँचादी ? त्यसैले यो हेलचेक्र्याई गर्ने बेला हुँदै होइन । तत्काल लकडाउन कडा बनाउने र मानिसहरुलाई सुरक्षित गर्ने प्रयास हुनुपर्छ ।
प्रधानमन्त्री ओलीले यसरी लकडाउन खुकुलो पार्दै जाने र मानिसहरु जथाभावी हिँड्न नछोड्ने हो भने स्थिति काबुभन्दा बाहिर जानसक्ने स्मरण गराएका थिए ।

प्रधानमन्त्री ओलीले चेतावनी शैलीमा मन्त्री पोखरेललाई झपारेपछि उनले तत्काल उच्चस्तरीय समितिको बैठक बोलाएर लकडाउनबारे थप निर्णय गरिने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पार्न खोजेका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले संक्रमितहरु बढ्दै जानुले अब नागरिकले समेत ध्यान दिनुपर्ने बेला आएको भन्दै जनतालाई बुझाउने काम समेत सरकारको रहेको बताएका थिए ।
‘यो समस्या सरकार एक्लैले गरेर मात्र पनि समाधान हुँदैन । यस्तो अवस्थामा कसैले पनि हेलचेक्र्याई गर्नुहुन्न । यसमा सरकारले जनतालाई बुझाउन पनि सक्नुपर्छ । जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मानिस रहे सवै रहन्छ’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘आर्थिक गतिवधि भन्दा मानिसको जीवनलाई महत्त्वपूर्ण ठानांै यसमै सवैको हित हुन्छ ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो ।
लकडाउन खुकुलो पारिएसँगै सडकमा जाम हुन थालेको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुलेका थिए । तर बैंक तथा वित्तीय संस्था खोल्ने खोल्ने नाममा लकडाउनलार्ई खेलाची नगर्न निर्देशन दिएका थिए । त्यतिमात्रै होइन राजधानीमा अवाश्यक नपर्ने, कपडादेखि भाँडा पसलहरु समेत खुल्न थालेका थिए । तरकारी बजारहरुमा दुरी कायम नगरी मानिसहरु हेलचेक्र्याईपूर्वक हिँड्ने क्रम पनि बढिरहेको छ ।
मंगलबारमात्रै नेपालमा ५७ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ । दिनहुँ कोरोना संक्रमित थपिने क्रम बढ्न थालेपनि सर्वसाधारणमा त्रास बढेको छ ।