मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्याङ्ग्य काठमाण्डौंमा लकडाउन छ र ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै े असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएका छन् । ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै आफ्नो कुरा राख्न थालेका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यसलाई लकडाउन भनिँदैन ।

आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।

बैठकमा लकडाउन बारे कुनै एजेण्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएका छन् । उनले यस्तोलाई लकडाउन भनिँदैन भन्दै पछिल्ला संक्रमणको संख्याले लकडाउनमा खेलाँची गर्न नहुने देखाएको बताए । मन्त्रिपरिषद् बैठककै बीचमा पर्सा, रुपन्देही र कपिलवस्तुमा आज मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको खबर पुगेको थियो ।

प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए । उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ । प्रधानमन्त्रीले लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । महामारी नियन्त्रणबाहिर जान नदिन सरकारले कठोर कदम चाल्नैपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले मान्छेले विरोध गरे, केही मिडियाले लकडाउनको विरोध गरेभन्दैमा महामारीसँग खेलाँची गर्न नहुने बैठकमा बताएका थिए । भारतबाट आउनेहरूबाट नेपालमा कोरोना संक्रमणको भयावह अवस्था देखिन सक्नेबारेमा पनि सरकार गम्भीर भएको ती मन्त्रीले बताएका छन् ।