तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ

ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए।

महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ।

प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो।

महाँकाल गाउँपालिका-३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।

बर्दिया मधुवन नगरपालिका-२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो।

अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ।