Breaking News

कुन-कुन कारणले दुख्छ कम्मर ?

कम्मर दुख्ने समस्या हरेक व्यक्तिले कुनै न कुनै बेला भोगेकै हुन्छन् । नेपालमा करिब ७० प्रतिशत मानिसलाई कम्मर दुख्ने समस्या रहेको विज्ञहरु बताउँछन् । कम्मर दुख्ने समस्या ठूलै चिन्ता लिनुपर्ने विषय होइन, तर हेलचेक्राइँ पनि गर्नुहुँदैन । यसलाई हेलचेक्राइँ गरेको अवस्षमा गम्भीर रोग समेत निम्तिन सक्छ ।

कम्मर दुख्ने कारण धेरै छन् । बसाइको पोजिसन नमिल्दा, मोटोपन हुँदा, एउटै पोस्चरमा लामो समय बसिरहँदा, भारी सामान उचाल्दा, हड्डी कमजोर हुँदा, धैरै व्यायाम गर्दाजस्ता कम्मर दुख्छ । यस्तै शरीरमा क्याल्सियम र भिटामिन डी कमी भएमा, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिएमा पनि कम्मर दुख्ने समस्या हुन्छ ।

कम्मर जोकोहीलाई दुख्न सक्छ, यद्यपि ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई अलि बढी यो समस्याले सताएको पाइन्छ । धेरै झुकेर, निहुरेर, कुर्सीमा लगातार बसेर काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिन्छ ।

टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने वा भार पर्ने भएका कारण मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर भएर कम्मर दुखाइ महसुस हुन्छ । जसलाई मेडिकल भाषामा पस्चुरल ब्याक पेन भनिन्छ । प्रायःजसो अहिले कम्मर दुखाइ धेरैजसो मानिसले अनुभव गरेका हुन्छन् । यो हड्डी कमजोर भएर दुख्छ । त्यस्तै ६० वर्ष माथिकालाई हड्डी खिइएर दुख्छ ।

डा. मजेशप्रताप मल्ल

रोगले पनि दुख्छ कम्मर

बाथरोग, क्षयरोग, ट्युमर, क्यान्सर, नशा च्यापिएर, युरिक एसिड बढ्नाले वा कुनै संक्रमणको कारण कम्मर दुख्छ । यी रोगका कारण निहुरिंदा दुख्ने, निरन्तर ६ महिनाअघिदेखि नियमित दुख्ने, तौल घट्दै जाने, साँझपख ज्वरो आउने, सुत्दा एकदम कम्मर दुख्ने, ढाड कुप्रो हुने, खुट्टा पोल्ने हुन्छ ।

कम्मर दुखाइको निदान

एउटै पोजिसनमा बसेर लामो समसयम्म काम नगर्ने, गर्नै परे आधा वा एक घण्टामा उठेर यताउता डुल्ने, शरीर तन्काउने गर्नुपर्छ । भारी समान उठाउँदा एकैचोटि ननिहुरिकन बिस्तारै निहुरिएर उचाल्ने गर्नुपर्छ । कम्मर दुख्ने समस्या र मांसपेशीसँग सम्बन्धित व्यायाम गर्नुपर्छ । मर्निङ वाक जाने, ढाडलाई बलियो बनाउने थेरापी गर्ने गर्नुपर्छ । महिनावारी रोकिएका महिलामा कम्मर दुख्ने समस्या धेरै देखिने भएकाले उनीहरुले क्याल्सियम खाएमा राहत मिल्छ । धेरै कम्मर दुखेमा औषधि खान सकिन्छ ।

निरन्तर कम्मर दुखेमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । यसको कारण पत्ता लगाई उपचार गर्नुपर्छ । नभए प्यारालाइसिससमेत हुन सक्ने जोखिम हुन्छ ।

(अर्थोपेडिक सर्जन डा. मल्ल भक्तपुर च्याम्हसिंहस्थित ख्वपः अस्पतालका मेडिकल डाइरेक्टर समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

अनलाइनखबरबाट

लेखक : डा. मजेशप्रताप मल्ल