मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितिन

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीच्छा प्रधान, वुमन विथ द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

भव्य फिनाले समारोहमा नेपाली रकस्टार अभया सुब्बाले एकल गायन प्रस्तुत गरिन् भने अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरियो । ‘आज किन’ बोलको गीत गाउँदै अभयाले गीत प्रस्तुत गरिन् । उनको गायकीमा प्रतिस्पर्धीले पनि नृत्य गरेका थिए ।

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिति थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।