माओवादी सांसद खनालले ओलीलाई भ्रष्टाचारको आरोप बोल्दा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडौँ । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको बैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्टाचार गरेको आरोपसमेत लगाएका थिए ।

एमाले प्रमुख सचेतक पदम गिरीले सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । अन्यथा माफी माग्नुपर्ने र सांसद दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि एमालेको माग छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भष्टाचारका बिषयमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित गरेको बैठक अझै सुचारु हुन सकेको छैन ।
के भनेका थिए सांसद लेखनाथ दाहालले ? 

‘गएको ३ वर्ष उहाँ ( केपी शर्मा ओली) सरकारमा जाँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी
पुग्यो ? यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्टाचार काण्ड आए । यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भष्टाचार । त्यतिमात्र हैन पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले
गर्दैछ ।’