सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

१४ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सांसदहरुले उठाएका प्रश्नको हिजो शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यस क्रममा सत्तारुढ सांसदहरुले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने एमालेसहित विपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताप बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि बहुमतले पारित भएको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । त्यसपछि उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै छलफल भएको थियो ।

राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम ९ जेठमा नै पारित भएको थियो ।