दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुई बस ठोक्किएपछि लोकल बसमा आगो लागेको डिएसपी गौतमले बताए। दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

पूर्व जाँदै गरेको बस लमही–भालुवाङ रूटमा चल्ने लोकल बस हो । उक्त बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार छिन्। उनका दुई छोरापनि घाइते छन् । परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन्।