सहकारीको १० अर्ब रुपैयाँ आफ्नो नाममा राखेर हिनामिना गर्ने दम्पती

काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा हिनामिना गर्ने दम्पत्ति सिआइबी फन्दामा परेका छन् । सो सहकारीकी सञ्चालिकामध्ये एक गीता शर्मालाई प्रहरीले पक्राउ गरेको छ भने उनका श्रीमान केदारनाथ शर्मा फरार छन् ।

सर्वसाधारणको करिब १४ अर्ब निक्षेप रहेको सो सहकारीबाट शर्मा दम्पत्तिले मात्र करिब १० अर्ब हिनामिना गरेका छन् । सहकारीको पैसा आफ्नो विभिन्न कम्पनीमा लगानी गरी उनीहरुले हजारौं सर्वसाधरणको पैसा उठाएका हुन् ।

गीता र सहकारीका सञ्चालक सदस्य पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरेको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्र रहेको सो सहकारी लामो समयदेखि संकटमा छ । संस्थाले हजारौँ निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । १६ प्रतिशत ब्याज दिने भन्दै विज्ञापन गरेर उनीहरूले देशभरिबाट ठूलो निक्षेप उठाएका थिए ।

उपत्यकाका तीनै जिल्लाका साथै विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा संस्थाको सेवा केन्द्र छ । ती ठाउँका पीडितहरूले निक्षेप फिर्ताका लागि संघर्ष गर्दै आएका छन्  । सहकारी विभागले पनि यस विषयमा पटक–पटक छलफल गराउँदै आएको छ । गत १२ वैशाखमा गीतालाई समेत उपस्थित गराई छलफल गरेको थियो । जसमा उनले आफ्ना सबै सम्पत्ति बेचेर संस्थाको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन् । साथै, १० दिनभित्र श्रीमानलाई उपस्थित गराउने बताएकी थिइन् । शर्मादम्पतीलगायत सहकारीका सबै सञ्चालकको सम्पत्ति रोक्का गर्न सहकारी विभागले नै यसअघि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । विभागकै पत्राचारअनुसार सिआइबीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

उपत्यकाका पीडितहरूलाई ब्युरोमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा सम्पर्क गर्न सिआइबीले आग्रह गरेको छ । पीडितसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही अघि बढाउन सो सहकारीको शाखा कार्यालय रहेका जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । नियामक निकायले ध्यान नदिदा सो सहकारीमा हजारौं सर्वसाधरणको रकम डुबेको छ ।