सर्वसाधारणका लागि सिटी होटलको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला

सर्वसाधारणका लागि सिटी होटलको आइपिओ आज (सोमबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेकाे  हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।

यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ।

सो आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका

तोकिएका शाखा कार्यालयहरूका साथै ‘मरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ।

यस आधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ।

हायात प्लेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो।

काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटलमा एक सय ५३ वटा कोठा छन्। कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ।

यो अवधिमा होटलले लिएको कर्जा दुई अर्ब ८४ करोड रकम कायम थियो। यो रकम होटलमा खर्च भइरहेको हो।

होटल सन् २०२१ अगष्टबाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो। तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो।

२१ जुनको विवरण अनुसार होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन्।