आर्थिक संकटबाट बच्ने अन्तिम उपाय

श्रीलंकामा आर्थिक संकट चर्किएपछि आक्रोशित नागरिकहरूले राष्ट्रपति भवन कब्जा गरे । भित्र पसेर उनीहरूले राष्ट्रपति भवनको सान-सौकतको एक एक निरीक्षण गरे । राष्ट्रपतिको भवन त भव्य र विलासी रहेछ । जस्तो कि स्वीमीङ पुल, व्यायामशाला, आलिसान कोठा आदि ।

लगत्तै रोचक परिदृश्य देखियो । कोही स्वीमीङ पुलमा पौडी खेल्न थाले, कोही व्यायामशालामा व्यायाम गर्न । कसैले विलासी शयनकक्षमा सुस्ताएर मजा लिए । कसैले राष्ट्रपतिको कुर्सीमा बसेर सेल्फी खिचे ।

नागरिकहरू चरम संकटमा पर्दा पनि शासकहरू आलिसान भवनमा निश्चिन्त बस्दा रहेछन् । यो उनीहरूले प्रत्यक्ष अनुभव गरे र आ आफ्ना पाराले यस्ता शासक प्रति बिद्रोह व्यक्त गरे ।

नेपालमा पनि आर्थिक संकट चर्कीरहेको छ । यहाँ पनि समय-समयमा रोचक कुरा सुन्न पाइन्छ । सत्तारुढ एक सांसदले केही दिन अघि संसदमा बोल्दै ‘बाँदर व्यापारबाट आर्थिक संकट समाधान गर्न सकिने’ कुरा गरे । कतिपय मानिस भन्दैछन्, कुनै विज्ञ अर्थशास्त्रीले संसदको चुनाव जितेपछि समस्या समाधान हुन्छ ।

ज-जसले जे भने पनि सर्वसाधारणको जीवन झन् झन् कठिन बन्दै गएको छ । यही परिवेशमा कोही बैंक र वित्तिय संस्थाको ऋण नतिर्ने कुरा गर्दैछन् । कोही बैंकहरूलाई ब्याजदर घटाइदिन माग गर्दै आन्दोलन गर्दैछन् ।

ठूला-साना, सबैखाले व्यापारी निराश छन् । उनीहरू बजारमा चरम मन्दी भएको कुरा गर्दछन् । आम नागरिक पनि निराश र आक्रोषित छन् । तर सरकारी अधिकारीहरू निश्चिन्त छन् । उनीहरू ‘अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको’ टिप्पणी गर्दै दिन काटिरहेका छन् । समस्या समाधानको त कुरै छैन ।

आर्थिक मन्दी यतिबेलाको वैश्विक परिघटना हो । ‘महाशक्ति’ देखि ‘सामान्य’ मुलुकसम्म यसको सिकार भएका छन् । ‘बजारवादी’ देखि ‘समाजवादी’ सम्म यो संकटको डढेलोमा लपेटिएका छन् । तर अनौठो के छ भने, सामान्य अवस्थामा ‘असीमित आर्थिक वृद्धि’ को चर्को वकालत गर्ने विज्ञहरू संकटको बेला गुपचुप छन् । यस्ता विज्ञहरूको विज्ञताले आर्थिक संकटको बाटो छेक्न सकेको छैन ।

विज्ञान र प्रविधिमा जस्तै चमत्कार भए पनि आर्थिक संकट टार्ने चमत्कार विज्ञहरूले गरेर देखाउन सकेका छैनन् । विश्व अर्थतन्त्र झन् झन् अस्वस्थ बन्दै गएको छ । राजनीतिशास्त्र र अर्थशास्त्रका प्रचलित कुनै भाष्यले काम गरिरहेका छैनन् । यो सामान्य कुरा होइन, हामीले गौरव गरेर स्थापित गरेका ज्ञान माथिको चुनौती हो ।

आर्थिक संकटबाट बच्न सकिन्छ ? यो वर्तमानको सर्वाधिक चासोको सवाल हुन सक्छ, तर जवाफ सहज छैन । कारण, हाम्रो विज्ञान र सामाजिक मूल्य-मान्यता नै प्रश्नको घेरामा परेका छन् । सुख, विकास, आधुनिकता र प्रगति खोज्ने आजसम्मका प्रयत्न नै प्रश्नको घेरामा परेका छन् । कहिँ न कहिँ गल्ती भएको छ । त्यो गल्ती नसच्याएसम्म आर्थिक संकट लगायत अन्य कुनै न कुनै प्रकारका संकट भोग्न हामी अभिशप्त छौं ।

चिन्तनको संकट

विज्ञानको क्रान्ति र आर्थिक चिन्तनका पछिल्ला तथ्यका आधारमा आजको आर्थिक संकटबारे निश्चित दाबी गर्न सकिन्छ । पहिलो, अहिलेको संकट आर्थिक मात्र होइन, यो समग्र संकटको एउटा आयाम हो । राजनीतिक, सामाजिक, पर्यावरणीय र प्राविधिक संकटभित्रै आर्थिक संकट पनि अभिन्न छ ।

दोस्रो, सारा संकट मानिसले आफू र प्रकृतिको स्वाभावलाई नचिन्दा पैदा भएको हो । सुख, आधुनिकता र विकास खोज्ने नाममा आफू र प्रकृतिका नियम विरुद्ध काम गर्दा पैदा भएको हो । अर्थात् ‘मानव केन्द्रित’ चिन्तन नै समस्याको जड हो ।

आफ्नो बुद्धिले संसार बुझ्न सक्छु भन्ने ठान्नु र आफूलाई प्रकृतिभन्दा उच्च मूल्य दिनु नै ‘मानव केन्दि्रत’ चिन्तनको मूल विशेषता हो । यसका मूलतः दुईवटा मूल निश्कर्ष हुन्छन् । पहिलो, यसले भौतिक सुख प्राप्तिलाई नै मानव जीवनको लक्ष्य बनाउँछ । दोस्रो, प्रकृतिलाई यसले निर्जीव र ‘भोग्य’ वस्तु मान्दछ ।

आर्थिक संकट र गैरआर्थिक संकट अभिन्न छन् । यिनीहरू मानव केन्द्रित चिन्तनले सिर्जित समस्या हुन् । मानिसको लोभ र महत्वाकांक्षाको गर्भबाट यी संकट पैदा भएका हुन् । यसका पछाडि विगतको भौतिकवादी चिन्तन नै मूल जिम्मेवार छ

माथिका दुई निश्कर्ष व्यक्ति र प्रकृतिको स्वभावका विपरीत छन् । यद्यपि इतिहासमा यस्ता निश्कर्ष विज्ञान, विकास, आधुनिकता र प्रगतिका नाममा नै पैदा भएका थिए । जुन आजसम्मको विकास र विनाश, दुवैका लागि जिम्मेवार छन् ।

भौतिक सुख प्राप्तिलाई लक्ष्य मान्ने बित्तिकै मानिस भित्रको लोभ र महत्वाकांक्षा जायज ठहरियो । प्रकृतिलाई ‘भोग्य’ वस्तु मान्ने बित्तिकै प्राकृतिक सम्पदा ‘पुँजी’ मा रूपान्तरण भयो । वैयक्तिक सम्पति र राजकीय सम्पत्तिको अवधारणा जन्मियो । कानुनी व्यक्ति (कर्पोरेट हाउस) को धारणा पनि सँगै जन्मियो । तब समाजमा पुँजीका लागि प्रतिस्पर्धा र लुछाचुँडी गर्ने फेसन चल्यो । सहकार्य र सहअस्तित्वको संस्कार समाप्त भयो ।

‘पूर्व-आधुनिक’ कालका थुप्रै दुर्बलता थिए । तर त्यो समाजमा केही अनुकरणीय मूल्यमान्यता पनि थिए । समाजमा राजा वा सम्राटहरू त हुन्थे । तर केन्द्रीकृत कानुन प्रणाली सुदृढ थिएन । त्यसकारण, राजा वा सम्राटहरूको भन्दा सामुदायिक कानुन चाहिँ बलशाली हुन्थ्यो । समाज, मूलतः समुदाय स्तरमा संगठित थियो ।

यस्तो समाजमा व्यक्ति र प्रकृति अन्योन्याश्रति थिए । प्रकृतिलाई ‘पूज्य’ मानिन्थ्यो र व्यक्ति प्रकृतिको मातहत थियो । प्राकृतिक सम्पदाको सदुपयोगद्वारा वैयक्तिक सम्पति सिर्जना गर्न पाइन्थ्यो । तर प्राकृतिक सम्पदालाई नै व्यक्तिगत सम्पत्ति बनाउनु मूल्यमान्यता विपरीत मानिन्थ्यो । उत्पादित वस्तु समुदाय भित्र नै विनिमय हुन्थ्यो । एक किसिमको सहकार्य र सहअस्तित्वमुखी आत्मनिर्भर समाज थियो ।

‘पूर्व-आधुनिक’ समाजमा प्राकृतिक संकट आउँथे । जस्तो कि, अनिकाल, महामारी आदि । आपसी युद्धका कारणले जनताले चर्को करको सामना गर्नु पर्ने अवस्था पनि आउँथ्यो । यो बाहेक आर्थिक संकट के हो ? त्यो समाजले देख्न/जान्न पाएन । कारण, उक्त समाजमा असीमित आर्थिक वृद्धिको महत्वाकांक्षा नै थिएन ।

व्यक्ति र सामुदायिक अघुवा दुवैले धार्मिक (जैविक) मूल्यमान्यतालाई शिरोपर गर्दथे । जैविक मूल्यमान्यता विपरीत सोच्नु पनि ‘पाप’ मानिन्थ्यो । यसकारण त्यहाँ लोभ र महत्वाकांक्षाको लागि स्थान थिएन । जसका कारण उक्त समाजले आर्थिक संकट भोग्नु परेन ।

तर जव तथाकथित आधुनिकता सुरु भयो, मूल्यमान्यताहरू उल्टिए । ‘पूज्य’ मानिएको प्रकृतिलाई ‘भोग्य’ मान्न थालियो । ‘प्रकृतिसँग संघर्ष’ र ‘प्रकृतिसँग विजय’ जस्ता कुरा गर्न थालियो । मानिसले आफूलाई प्रकृतिभन्दा उच्च महत्व दिन थाल्यो । ‘असीमित आर्थिक वृद्धि’ को होडबाजी चल्न थाल्यो ।

मानव केन्दि्रत भोगी चिन्तनले संस्थागत रूप धारण गर्दा नै लोभ र महत्वाकांक्षामा आधारित केन्द्रिकृत राज्य खडा भए । सामुदायिक कानुन मासेर लोभ र महत्वाकांक्षामा आधारित केन्द्रिकृत कानुन लागु गरियो । अब ‘प्रकृति’ भन्दा ‘पुँजी’ ले महत्व पाउन थाल्यो । व्यक्ति र राज्य दुवै असीमित पुँजी विस्तारको उद्देश्यद्वारा सञ्चालित हुन थाले ।

अत्यधिक सम्पदा कब्जा गरेका व्यक्ति र कर्पोरेट हाउसहरू नै राज्य सञ्चालनमा हर्ताकर्ता भएर देखा परे । उनीहरूले राज्यमा ‘चुसाहा अर्थतन्त्र’ लाई संस्थागत गरे । उनीहरू नै प्राकृतिक सम्पदा कब्जाको होडबाजीमा उत्रिए । कालक्रममा यस्तै सोचले ‘बजारवाद’ हुँदै ‘साम्राज्यवाद’ जन्मायो ।

‘बजारवादी’ हरूको ‘चुसाहा अर्थतन्त्र’ ले जनतालाई हदैसम्म चुसिसकेपछि अर्थतन्त्रको गतिशीलता अवरुद्ध भयो र आर्थिक संकट देखा पर्‍यो । साम्राज्यवादी युद्धका कारण भूराजनीतिक संकट पनि थपियो । पुँजी विस्तारको होडबाजीले प्राकृतिक सम्पदाको दोहन बढायो । यसले पर्यावरणीय संकट जन्मायो । जमिनमाथि वैयक्तिक र कर्पोरेट हाउको निरपेक्ष अधिकारका कारण रैथाने समुदायहरू थातथलोबाट विस्थापित भए । यसले सामाजिक संकट जन्मायो ।

बिसौं शताब्दीसम्म आउँदा पुँजीवादका विरुद्ध ‘समाजवादी’ विचार र शक्ति त पैदा भयो । तर यो पनि ‘मानव केन्द्रित’ चिन्तनकै अर्को शाखा थियो । समाजवादीहरू पनि मानवीय बुद्धिले संसार बुझ्न सकिन्छ भन्ने ठान्दथे र मानव जातिलाई प्रकृति भन्दा उच्च मूल्य दिन्थे । फरक कति मात्र थियो भने बजारवादमा व्यक्तिको मूल्य उच्च र राज्यको मूल्य गौण थियो । समाजवादमा राज्यको मूल्य उच्च र व्यक्तिको मूल्य गौण भयो ।

समाजवादी चिन्तक कार्ल माक्र्सले पुँजीवादी व्यवस्थामा ठूला ठूला आर्थिक मन्दी आउँछन् भनेर विशद व्याख्या त गरे । केही दशक बजारवादी र समाजवादीबीच भिषण संघर्ष पनि चर्कियो । तर समाजवादीहरूले बजारवादीलाई परास्त गर्न सकेनन् । प्रकृतिको दोहन र असीमित आर्थिक वृद्धिको होडबाजीमा समाजवादीले पनि बजारवादीकै सिको गरे । यसरी समाजवादीले पनि आर्थिक, राजनीतिक, सामाजिक र पर्यावरणीय संकटलाई नै मलजल गरे ।

यसको सार, आर्थिक संकट र गैरआर्थिक संकट अभिन्न छन् । यिनीहरू मानव केन्द्रित चिन्तनले सिर्जित समस्या हुन् । मानिसको लोभ र महत्वाकांक्षाको गर्भबाट यी संकट पैदा भएका हुन् । यसका पछाडि विगतको भौतिकवादी चिन्तन नै मूल जिम्मेवार छ ।

आजको सन्दर्भ

सरकारी भुक्तानी समयमा नहुँदा त्यसले बजारमा असर पारेको हुन सक्छ । भ्रष्टाचार, तस्करी र कालोबजारीले पनि बजारमा असर गरेको हुन सक्छ । केही हिस्सा कोरोना कालको असर पनि हुन सक्छ । आर्थिक मन्दीमा कुन क्षेत्रले कति असर गरेको छ ? यसको तथ्यगत अध्ययन नै जरुरी छ

दोश्रो विश्वयुद्धयता बजारवादीहरूले आफूभित्रको संकटको समाधान गर्न अनेक प्रयत्न गरे । तर उनीहरू आर्थिक संकटलाई चिन्तन र मूल्यमान्यताकै संकटको रूपमा ग्रहण गर्न तयार भएनन् । अर्थात्, आफूभित्रको लोभी र महत्वाकांक्षी वृत्ति परित्याग गर्न तयार भएनन् ।

उनीहरू समस्याको वास्तविक समाधानभन्दा पनि आफूभित्रको लोभ वृत्ति कसरी जोगाउन सकिन्छ भन्नेमा केन्दि्रत
थिए । यसकारण उनीहरूको प्रयत्न गणितीय उपायद्वारा केही गर्न सकिन्छ कि भन्ने मै केन्दि्रत भयो । यसरी समस्याको समाधान हुने कुरै थिएन । परिणाम त्यही भयो, अर्थात्, उनीहरू असफल भए र आजसम्म पनि असफल नै भइरहेका
छन् ।

पछिल्लो समय आएको इलेक्ट्रोनिक प्रविधि र सूचना क्रान्तिले नयाँ संभावनाको ढोका खोलेको र विश्वअर्थतन्त्रको चरित्रमा केही फरक ल्याएको पक्कै हो । यसले मुलुकहरू बीचको दूरी घटाएको र वैश्विक सहकार्यका लागि उपयुक्त अवस्था सिर्जना गरिदिएको कुरा पनि सत्य हो ।

तर नयाँ प्रविधि, मानव कल्याणका लागि कम, कर्पोरेट हाउसहरूका लोभ र महत्वाकांक्षामा बेसी प्रयोग भइरहेको छ । सूचना प्रविधिको उपयोग गरेर युरोपेली र अमेरिकी देशहरूले परजिजी पुँजी -वित्तिय पुँजी) विकास गरेका छन् । आफू उत्पादनको जोखिम र दुःख नउठाउने, तर त्यस्ता कामको लाभ चाहिँ सबै आफ्नो हातमा पार्ने खेल चलिरहेको छ । यो सबै मानवीय लोभ र महत्वाकांक्षा विस्तारको नयाँ संकरण हो ।

खास कुरा, सीमित पृथ्वीमा असीमित आर्थिक वृद्धि अप्राकृतिक र असंभव कुरा हो । जो जति माथि चढ्ने प्रयत्न गर्दछ, उ त्यतिनै तल गिर्ने आधार पनि तयार हुन्छ । यो प्राकृतिक नियमबाट कोही अछुतो रहन सक्दैन ।

सारा संसार एक ‘गलिशील सन्तुलन’ हो । अर्थतन्त्र पनि गतिशील सन्तुलनमा नै चल्नु पर्दछ । यो कुरा विश्व अर्थतन्त्रका खेलाडीले नबुझेको पक्कै होइन । तर उनीहरूको लोभ र मोहले मानव र गैरमानव सबैलाई दुःखको महासागरमा डुबाइरहेको छ ।

विगत तीन दशक यता अमेरिकामा ‘तेजी-मन्दी’ का ४ भन्दा बेसी चक्र देखापरिसकेका छन् । हरेक चक्रमा ‘तेजी’ केवल ‘पानीको फोका’ सावित भएको छ । क्षणिक रूपमा देखा पर्ने ‘तेजी’ ले नै चरम मन्दीमा गिराएको छ । युरोपेलीहरूको अवस्था पनि यस्तै छ । यसले उनीहरूको अर्थतन्त्रलाई एक किसिमको ‘जुवाघर’ जस्तो बनाएको छ ।

प्रविधिको प्रयोग गरेर आफ्नो वर्चश्व जोगाउन खोजे पनि संकट झन झन थपिँदो छ । संकटको सूचिमा अब ‘प्राविधिक संकट’ पनि थपिएको छ । जस्तो कि हृयाकिङ, साइबर अपराध, डेटा चोरी आदि । यस्ता समस्याले ‘धनी’ वा ‘गरिब’ सबैखाले मुलुकलाई सताउन थालेको छ । यो पनि लोभ र महत्वाकांक्षा विस्तारकै अर्को संकरण हो ।

यदि पछिल्लो आर्थिक संकटका लागि कोरोना महामारीलाई जिम्मेवार मान्ने हो भने यस पछाडि पनि चिन्तनगत दोष नै जिम्मेवार छ । प्रकृतिलाई ‘भोग्य’ मान्दा प्रकृतिको अत्यधिक दोहन भयो । यसले पर्यावरण बिगि्रयो । यही परिवेशमा विभिन्न महामारी पैदा भए ।

श्रीलंकाको संकटमा पनि कोरोना महामारी मात्र जिम्मेवार छैन । कुरा केलाउँदै जाने हो भने यहाँ पनि अन्तिममा शासक वर्गहरूको चिन्तनको दोषसम्म नै पुगिन्छ ।
नेपाली सन्दर्भ

नेपालको अर्थतन्त्र वैश्विक अर्थतन्त्रसँग अभिन्न छ । यसकारण नेपालको अहिलेको आर्थिक मन्दी सामान्यता विश्व बजारमा आएको मन्दीको असर पनि हो । यद्यपि यसका आन्तरिक कारकहरूको पनि खोजी गर्नु जरुरी छ । यसका अनेकन साना-ठूला आन्तरिक कारण हुन सक्छन् ।

नेपाली अर्थतन्त्रको ‘चुसाहा’ चरित्र नै आर्थिक मन्दीको मूल कारक हो । देशको बित्तिय तथा मौदि्रक नीति जम्माजम्मी सर्वसाधारणलाई चुसेर केही सीमित कर्पोरेट हाउस, कर्मचारी र नेता पाल्नमा केन्द्रित छ । लगभग राणाकालदेखिको राज्यको यो चरित्रमा आधारभूत फेरबदल भएको छैन । यसले देशलाई भित्रभित्रै खोक्रो बनाएको छ । यसको असर अर्थतन्त्रमा देखिनु स्वाभाविक हो ।

‘नवउदारवाद’ को अन्धानुकरणले राष्ट्रिय सम्पदा तहसनहस भएका छन् । उत्पादन र रोजगारी सिर्जनामा राष्ट्रिय योगदान नगन्य छ । अर्थतन्त्र जम्माजम्मी रेमिट्यान्स र राजश्व असुलीमा टिकेको छ । एकातिर बेरोजगारी र अर्कोतिर गतिशील युवा जनसंख्याको ठूलो हिस्सा देश बाहिर भएपछि उपभोग स्तरमा कमी भएर बजारमा मन्दी आएको पनि हुन सक्छ ।

सरकारी भुक्तानी समयमा नहुँदा त्यसले बजारमा असर पारेको हुन सक्छ । भ्रष्टाचार, तस्करी र कालोबजारीले पनि बजारमा असर गरेको हुन सक्छ । केही हिस्सा कोरोना कालको असर पनि हुन सक्छ । आर्थिक मन्दीमा कुन क्षेत्रले कति असर गरेको छ ? यसको तथ्यगत अध्ययन नै जरुरी छ ।

विकल्प

नेताहरूलाई सुझाव, ‘बाँदरको व्यापार’ बाट होइन राजनीतिक/आर्थिक क्रान्तिबाट चाहिँ आजको आर्थिक संकट हल गर्न सकिन्छ । यसो नगर्ने हो भने कुनै दिन श्रीलंकामा जस्तै सिंहदरबारमा पनि सर्वसाधारण पसेर विद्रोहको सेल्फी खिच्ने छन्

चिन्तन र मूल्यमान्यताको परिवर्तन बाहेक आर्थिक संकटबाट बच्ने अरु कुनै उपाय छैन । अब निम्नानुसार हाम्रा चिन्तन र मूल्यमान्यता बदलिनु पर्दछः

पहिलो, आर्थिक चिन्तनको मूल उद्देश्य, ‘आर्थिक वृद्धि’ होइन, जनकल्याण हो । हामीले हाम्रा प्रयत्नलाई धनको लोभ र महत्वाकांक्षामा होइन, जनकल्याणमा केन्दि्रत गर्नु पर्दछ । ‘नवउदारवाद’ को अन्धानुकरण तुरुन्त बन्द गर्नु पर्दछ ।

प्राकृतिक सम्पदाको सदुपयोगद्वारा व्यक्तिले पैदा गरेको लाभलाई व्यक्तिगत सम्पत्ति बनाउन छुट दिनु पर्दछ । तर प्राकृतिक सम्पदालाई नै वैयक्तिक वा कर्पोरेट सम्पत्ति बनाउने कानुन प्रणाली खारेज गर्नु पर्दछ । प्राकृतिक सम्पदा मूलतः स्थानीय समुदायको अधिकारक्षेत्रमा राख्नु पर्दछ । शिक्षा, स्वास्थ्य, सार्वजनिक पूर्वाधार जस्ता चिजको निजीकरण र व्यापारीकरणको अन्त्य गर्नु पर्दछ । यस्ता बिषयमा सरकार-समुदाय सहकार्य स्थापित गर्नु पर्दछ ।

दोस्रो, मानिसको खुशी र आनन्दका लागि धन जरुरी छ । तर यो साधन मात्र हो । स्वस्थ जीवन, स्वच्छ पर्यावरण, सुमधुर सामाजिक सम्बन्ध र प्रकृतिप्रतिको गहिरो आत्मियता मात्र खुशी वा आनन्दका निणर्ायक आधार हुन् । त्यसैले, आत्मिक सुख प्राप्ति -सुमधुर सामाजिक सम्बन्ध, प्रेम र आत्मियता) चाहिँ मानवीय जीवनको लक्ष्य हो । कुल ग्राहस्थ उत्पादनमा विकास नाप्ने प्रचलन बन्द गर्नु पर्दछ । नागरिकको स्वास्थ्य, सामाजिक सम्बन्ध र पर्यावरणको अवस्थाको आधारमा विकास नाप्ने प्रचलन सुरु गर्नु पर्दछ ।

तेस्रो, आर्थिक क्षेत्र र गैर आर्थिक क्षेत्र आपसमा अन्तरसम्बन्धित छन् । अर्थतन्त्रसँग समाज, राजनीति, पर्यावरण र प्रविधिको दोहोरो सम्बन्ध हुन्छ । सबैले सबैलाई प्रभावित पार्दछन् । आर्थिक नीति तय गर्दा गैरआर्थिक पक्षको प्रणालीलाई पनि ख्याल गर्नु पर्दछ । ‘चुसाहा अर्थतन्त्र’ को विकल्पमा ‘सिचिंत अर्थतन्त्र’ निर्माणका लागि पहल गर्नु पर्दछ ।

चौथो, अर्थतन्त्र पनि ‘जिवन’ हो । बृद्धि भएन भने यो मर्छ । तर बृद्धि स्वच्छ र प्राकृतिक हुनु पर्दछ । बृद्धि नै नगर्ने सोच पनि गलत छ । असीमित वृद्धिको सोच पनि गलत छ । ‘उत्पादन, क्षय, रूपान्तरण र पुनः उत्पादन’ को जीवन्त चक्रमा अर्थतन्त्रलाई सञ्चालन गर्नु पर्दछ । व्यक्ति र राज्य, पुँजी र श्रम, आयात र निर्यात, उत्पादन र उपभोग, ऋण र धन, जस्ता अवयवबीच गतिशील सन्तुलन कायम गर्नु पर्दछ ।

पाँचौं, प्रकृति ‘भोग्य’ होइन, ‘पूज्य’ चिज हो । प्रकृतिसँग मानिसको सम्बन्ध संघर्षको होइन, सहकार्यको हो । प्रकृतिको सम्मान र सदुपयोगले मात्र जीवन सुखी र खुशी हुन्छ । प्रकृतिको दोहन ‘पाप कर्म’ हो, त्यस्तो कर्म गर्दा प्रकृतिबाट उल्टो सजाय पाइन्छ । मानिसले अत्यधिक धनसंग्रह होइन, आफू भित्रको निजत्वको प्रस्फुटनमा चाहिँ ध्यान केन्दि्रत गर्नु पर्दछ । अपरिग्रह -आवश्यकतामा आधारित उत्पादन) को सोचले मात्र व्यक्ति, समाज र ब्रम्हाण्ड सबैको भलो हुन्छ । अब चिन्तनलाई यतातिर ढल्काउनु पर्दछ ।

छैटौं, मानिसले प्रकृतिमाथि कहिल्यै विजय हासिल गर्न सक्दैन । मानिसको बुद्धिले संसार बुझ्न पनि सक्दैन । मानिस ‘उत्कृष्ट प्राणी’ होइन र मानिसको ‘स्वतन्त्र इच्छा’ भन्ने पनि हुँदैन । ऊ जहिल्यै मन बुद्धि र अहंकारको ‘माया’ मा बाँचेको हुन्छ । त्यसकारण उसले विवेकशील निर्णय लिन पनि सक्दैन । हामीले मानव केन्दि्रत चिन्तन परित्याग गर्नु पर्दछ । जीवनका हरेक सवालमा आधुनिक विज्ञान र बुद्धपुरुषका वचनको अनुशरण गर्नुपर्दछ ।

अन्त्यमा, चिन्तन र मूल्यमान्यताको परिवर्तन गर्न राजनीतिक प्रणाली र अर्थतन्त्र दुवै क्षेत्रमा यी बिषयलाई प्रवेश गराउन जरुरी हुन्छ । यो काम एकैचोटी संयुक्त रूपमा मात्र सम्पन्न हुन्छ । त्यसकारण राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने भनाई गलत छ । राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति सँगसँगै यात्रा गर्दछन् । नेपालमा राजनीतिक क्रान्तिको चरण पूरा भएको छैन । दुवै क्रान्तिलाई संयुक्त हिंडाउनु नै आजको कार्यभार हो ।

यति कुरामा सहमत भइसकेपछि मात्र विज्ञ अर्थशास्त्रीको काम आउँछ । वित्तिय तथा मौद्रिक नीतिलाई पनि माथिका मूल्यमान्यताको मातहतमा राखियो भने मात्र अर्थतन्त्रमा वैकल्पिक लय पैदा हुन्छ ।

त्यसैले, नेताहरूलाई सुझाव, ‘बाँदरको व्यापार’ बाट होइन राजनीतिक/आर्थिक क्रान्तिबाट चाहिं आजको आर्थिक संकट हल गर्न सकिन्छ । यसो नगर्ने हो भने कुनै दिन श्रीलंकामा जस्तै सिंहदरबारमा पनि सर्वसाधारण पसेर विद्रोहको सेल्फी खिच्ने छन् । आशा गरौं, त्यस्तो दिन नआओस् ।

अनलाइनखबरबाट