कीर्तिपुरमा क्रिकेट क्रृज झरीमा छाता ओेडेरै खेल हेर्नेको भिड

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो।

युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे।

नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए।

त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन्।

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

यस्तै वृत्य अरिवन्द ८ रन  र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे।

रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गरे।

नेपालका लागि ललितले तीन विकेट लिएका छन्। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन्।

यो खेलको विजेता एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

वर्षाले दुई पटक खेल रोकिए पनि रंगशालामा पुगेका नेपाली समर्थकहरू भने छाता ओढेर भए पनि कुरिरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् नेपाली दर्शकको यो माया र हौसलाका लागि धन्यवाद व्यक्त गरेको छ।