एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका लामिछानेले मतदाता गर्न नपाउने

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उहाँहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न पाउने छैनन् ।