उपनिर्वाचनको मतदान सुरु : मतदान बेलुका ५ बजेसम्म

१० वैशाख, काठमाडौं । आज बिहान ७ बजेदेखि बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको
हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।